मासिक कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न

मुख्य समाचार

२९ जेठ २०८३, काठमाडौं

२०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत शुरु गरिएको यस कार्यक्रममा सधैँ झैँ कुनै एक दिवंगत स्रष्टाको सम्मानमा उहाँको एउटा प्रकाशित कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिन्छ । त्यस अनुसार यस पटक कथाकार बालकृष्ण सम्शेरको कथा ‘पराइघर’ कथाकार शैलेन्द्र साकारले वाचन गरेका थिए । त्यसपछि कथाकारद्वय गोविन्द गिरी प्रेरणा र माया ठकुरीले चालिसको दशकमा प्रकाशित आआफ्ना कथा वाचन गरेका थिए ।
कथाकार गोविन्द गिरी प्रेरणाले २०४४ को गरिमामा प्रकाशित भई पछि आफ्नै कथासङ्ग्रह ‘यात्राःअनन्त’ (२०५३)मा प्रकाशित कथा ‘निगार’ वाचन गरेका थिए । अर्का कथाकार माया ठकुरीले ‘पचास वर्षपछि’ शीर्षकको कथा वाचन गरेकी थिइन् । ‘माया ठकुरीका कथाहरू’ कथासङ्ग्रह (२०४८)मा सर्वप्रथम सङ्गृहीत उक्त कथा उहाँले सोही कथासङ्ग्रहको दोस्रो संस्करण (२०६५) बाट वाचन गरेकी थिइन् ।
कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले सम्पूर्ण अतिथिहरूको स्वागत गर्दै कथाकारद्वय गोविन्द गिरी प्रेरणा र माया ठकुरीको संक्षिप्त परिचय दिएका थिए । उनले हालसम्म कार्यक्रममा २०२०का दशकदेखि २०७०को दशकसम्मको अन्तिम वर्षसम्ममा प्रकाशित अनेकौं कथा कथाकारहरू स्वयं उपस्थित भई वाचन गरिसकेको जानकारी दिए । यस अभियानले पुराना तथा नयाँ पुस्ताका कथाकारहरूलाई कथाका माध्यमबाट जोड्ने तथा एकअर्का पुस्ताबीच आत्मीय सम्बन्ध स्थापना गर्ने काममा सफलता मिलेकोमा उहाँले प्रसन्नता व्यक्त गरे । त्यस्तै, दिवंगत कथाकारहरूका असी–नब्बे वर्षभन्दा पनि अघि प्रकाशित दुर्लभ कथाहरू अग्रज कथाकार पुष्कर लोहनीको निजी पुस्तकालयमा खोजेर शुरुदेखि नै प्रत्येक श्रृङ्खलामा वाचन गर्ने गरिएकाले सबै कथाकारहरूमा ती कथाप्रति रुचि बढ्न गई समग्र कथाविधाप्रति नै पुनर्जागरण ल्याउने काम भइरहेको कुरा पनि उनले व्यक्त गरे ।
कार्यक्रममा कथाकारहरूका अतिरिक्त सदा झैं गम्भीर कथाप्रेमीहरूको उपस्थिति थियो ।
कथा वाचनपछि श्रोताहरूबाट राखिएका जिज्ञासामा कथाकारद्वयले आ–आफ्ना भनाइ राखेका थिए । कथाकारहरूसँग जिज्ञासा राख्नेहरूमा शैलेन्द्र साकार, सविता श्रेष्ठ ‘बेहोसी’, रमेशजंग थापा, निर्मला ढुङ्गाना, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, हरिबोल आचार्य तथा श्यामप्रसाद श्रेष्ठ थिए ।
उठेका जिज्ञासामा कथाकार ठकुरीले आफ्नो सिर्जना कल्पनाभन्दा यथार्थमा आधारित पश्चिम रूकुमको कथा भएको बताइन् । त्यस्तै कथाकार प्रेरणाले भने, “एउटा लेखकले लेख्ने भनेको कुरा कि त समय हो, कि त जीवन हो ।” चालीस वर्षअघि लेखिएको कथा ‘निगार’का बारेमा आफ्नो लेखन, अनुभव र भोगाइको कुरा सुनाउँदै उहाँले भोजपुरको यात्राका क्रममा देखेका भोगेका यथार्थ कुरालाई कथामा उतारेको बताए ।
कार्यक्रमको अन्त्यमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले मन्तव्य प्रकट गर्दै नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने पवित्र उद्देश्यले दुई जनाको परिकल्पनामा शुरु गरिएको यो अभियान आज कथाकारहरू र कथाका गम्भीर पाठकहरूबीच लोकप्रिय हुँदै गएकोमा प्रसन्नता व्यक्त गरे । उनले दशकौंअघिदेखि कथा लेखिरहेका प्रतिष्ठित कथाकारहरू र भरखर कथा प्रकाशन गर्न थालेका नयाँ पुस्ताका प्रतिभावान स्रष्टाहरूलाई एउटै मञ्चमा स्थान दिइएकाले पुस्तापुस्ताबीचको सम्बन्ध सुदृढ हुँदै गएको कुरा अवगत बताए । उनले एकतीसौं श्रृङ्खलासम्म आइपुग्दा बिभिन्न प्रयोग गरिएको कुरा पनि उल्लेख गरे । विदेशी साहित्य र परम्पराको चर्चा गर्दै नेपाली साहित्यमा पनि कथाकारहरूलाई एउटै मञ्चमा राखेर कथा वाचन गराउने अनि ती कथाबारे श्रोताले टिप्पणी र जिज्ञासा राख्ने, तथा कथाकारले जिज्ञासा मेटाउने परम्पराको थालनी गरिएको पनि बताए ।
सो कार्यक्रम उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।

०००