शम्भु-निर्मला विशिष्ट साधक सम्मानको घोषणा

Uncategorized मुख्य समाचार

३ पुस २०८२, काठमाडौं

वरिष्ठ स्रष्टा तथा गायक शम्भुकुमार मिलनको नाममा स्थापित शम्भु-निर्मला कला-साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘शम्भु-निर्मला विशिष्ट साधक सम्मान’प्रा.डा. वासुदेव त्रिपाठी तथा मीरा राणालाई प्रदान गरिने भएको छ । समाजका अध्यक्ष प्रा.डा. देवी नेपाल हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार दुबै प्रतिभालाई जनही नगद रु. २१,१२१/- र सम्मानपत्र रहेको छ ।
विज्ञप्तिमा जनाइएको छ, पुरस्कृत प्राडा त्रिपाठी वि.सं. १९९९ चैत्र १३ गते तनहुँमा जन्मिएर संस्कृतमा आचार्य, नेपालीमा प्रथम श्रेणीमा प्रथम भई एम.ए र नेपाली साहित्यमा पहिलो विद्यावारिधिसम्मको उच्च शिक्षा हासिल गरी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल प्रज्ञा- प्रतिष्ठानका उपकुलपतिसमेत भएर उच्च प्राज्ञिक कर्महरू गरेका छन् । उनी वरिष्ठ कवि, समालोचकहरूका पनि समालोचक महासमालोचक, गुरुहरूका पनि गुरु महागुरु मानिन्छन् । ‘नेपाली कविताको सिंहावलोकन’, ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा’, ‘विचरण’लगायतका दर्जनौं समालोचनात्मक कृतिहरू, ‘तीनथुंगा’, ‘देशको महिमा’, ‘अर्धनारीश्वर’, ‘नवपल्लव’लगायतका दर्जनौं कविता तथा काव्यहरू र कविता, लेख, निबन्ध, समालोचना, भाषा आदि क्षेत्रका अनगिन्ती फुटकर रचनाहरू प्रकाशन गरिसकेका त्रिपाठीले नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति हुँदा नेपालको प्राज्ञिक उन्नयनका लागि अनेकौं अविस्मरणीय प्राज्ञिक कर्महरू गरेर नेपाली भाषा साहित्यका क्षेत्रमा अनुपम योगदान दिएका छन् ।
त्यस्तै वि.सं. २००८ सालमा कमलपोखरी, काठमाडौंमा जन्मिएकी मीरा राणाले ३१ वर्षसम्म रेडियो नेपालमा सेवा गर्नुका साथै ५५ वर्ष नेपाली गीतसङ्गीतको साधना गरिसकेकी छिन् । यस अवधिमा उनले ‘तिमी देऊ या नदेऊ’, ‘तिमीलाई रुवाउने’, ‘मेरो पाउमा आज’लगायतका १ हजार ६ सय अत्यन्त लोकप्रिय गीतहरू गाएर नेपाली गीतसङ्गीतका क्षेत्रमा अतुलनीय योगदान दिएकी छिन् ।
सो पुरस्कार २०८२ पौष १० गते बिहीबार, कीर्तिशेष स्रष्टा तथा गायक शम्भुकुमार मिलनको पाँचौं वार्षिक स्मृतिदिवसका अवसरमा प्रदान गरिनेछ ।

०००