महाकवि देवकोटा र कवि लेर्मोन्तभको जन्मजयन्ती सम्पन्न

मुख्य समाचार

१९ कार्तिक २०८३, काठमाडौं

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ तथा रूसी कवि मिखाइल लेर्मोन्तभको २१२ औँ जन्मजयन्तीको अवसरमा काव्यिक साँझ तथा कृति विमोचन सम्पन्न भएको छ।
नेपाल-रूस साहित्य समाज तथा रूसी सदनको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा ईन्जिनियर नारायणभक्त श्रेष्ठद्वारा संकलित तथा अनुदित कविताकृति’दुई देश एक आत्मा’को विमोचन समेत गरिएको थियो ।
दुई देश,दुई महान् कवि-एक काव्यिक विरासत’भनेर नाम दिइएको’दुई देश एक आत्मा’कविताकृतिमा महाकविका २२ थान कविता र बेलारूसका राष्ट्रिय कवि यांका कुपालाका १४ थान कविताहरू रहेका छन्।देवकोटा रचित मुनामदन पनि रूसी भाषामा अनुदित गरिएको छ। रूसी कवितालाई नेपालीमा र नेपाली कवितालाई रूसी भाषामा अनुवाद गरेर लेखक नारायणभक्त श्रेष्ठले दुई देश बीच साहित्यिक पुल निर्माण गरिदिएका छन्।
कार्यक्रममा साहित्यकार कन्हैया नासननीद्वारा लिखित ‘मरिना आज उदास छे’नाटिकाकृति समेत विमोचन गरिएको थियो।
मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृति विमोचन भएको हो।
प्रमुख अतिथि नइ एकेडेमीकी अध्यक्ष इन्दिरा प्रसाईंले समाज र सदनको संयुक्त आयोजनामा भएको यो कार्यक्रम ज्यादै सराहनीय भएको बताउँदै दुई देशबीचको साहित्य र कविलाई एउटै ठाउँमा ल्याएर प्रशंसनीय कार्य गरेको बताइन्।सोही अवसरमा उनले देवकोटा र लेर्मोन्तभका एक-एक कविता वाचन गरेर सुनाएकी थिइन्।
कार्यक्रमका सभापति समाजका अध्यक्ष ई.विष्णुबहादुर सिंहले उपस्थित सबैप्रति हार्दिक आभार प्रकट गर्दै दुबै देशका कविहरूको कवितामा पाइने भाव,मानवीय संवेदना र चेतनाको चर्चा गरेका थिए।कार्यक्रममा स्वरचित एउटा कविता र देवकोटा तथा लेर्मोन्तभका कविता पनि उनले वाचन गरेर सुनाएका थिए।
रूसी सदनकी प्रमुख अनास्थसिय खोख्लोभाले आफ्नो मन्तव्यमा रूसी कवि र महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वबारे संक्षेपमा प्रकाश पारेकी थिइन्।
साहित्यका दुई महान् हस्तीहरूलाई यहाँहरूको साथमा सँगै नमन गर्दै उहाँहरू समक्ष सम्मान अभिव्यक्त गर्न चाहेको बताउँदै उनले साहित्यले हाम्रा दुई देशका जनतामा आपसी सद्भाव र मित्रता कायम गर्न र यसलाई अझ प्रगाढ बनाउन ठूलो मद्दत गर्नेछ।हामी आफ्नो तर्फबाट यस पवित्र कामलाई निरन्तरता दिन सँधै प्रयत्नशील हुने नै छौं- यो उनको भनाइ थियो।
लेखकीय मन्तव्य राख्दै ई.नारायणभक्त श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटा,रूसी कवि मिखाइल लेर्मोन्तभ र बेलारूसका राष्ट्रिय कवि यांका कुपालाको संक्षिप्त जीवनी सहित उहाँहरूको व्यक्तित्व र कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।साहित्यको सीमा नहुने र भूगोलले साहित्यलाई रोक्न नसक्ने बताउँदै उनले हजारौं किलोमिटर टाढा भए पनि दुबै देशको साहित्य नजिक रहेको र मानवीय संवेदना,
संस्कृति र प्रकृति उस्तै रहेको बताए।दुबै कविका कविता अनुवाद गर्दा कविताको मौलिकता,मर्म र भाव जीवन्त राख्ने प्रयास गरेको बताए।
कार्यक्रममा बाह्रजना कविहरूले कविता वाचन गरेका थिए।रूसी कवि मिखाइल लेर्मोन्तभका कविता वाचन गर्नेहरूमा लक्ष्मी माली,नारायणभक्त श्रेष्ठ,विमला तुम्थेवा,स्नेह सायमी ई.सुशील सिग्देल रहेका थिए भने डा.अरूणा उप्रेती,दिलिप श्रेष्ठ,प्रेममान डंगोल,रश्मि रिमाल,विप्लव प्रतीक र डा.शशि थापा पण्डितले स्वरचित कविता वाचन गरेका थिए।
कवि बैरागी जेठाले भने बेलारूसका राष्ट्रिय कवि यांका कुपालाको कविता वाचन गरेका थिए।
समाजका सदस्य सचिव ई.रामविन्दु श्रेष्ठले दुबै महान् कविको संक्षिप्त परिचय दिँदै उहाँहरूको कृतिको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा समाजका उपाध्यक्ष चन्द्रकान्त आचार्यले स्वागत मन्तव्य राखेका थिए।रूसी कवि मिखाइल लेर्मोन्तभको २६ वर्षको उमेरमा निधन भएको बताउँदै उनका कविता ज्यादै स्तरीय र प्रभावकारी रहेको बताए।
रूसी सदन,कमलपोखरीमा भएको कार्यक्रमको सञ्चालन भावना न्यौपानेले गरेकी थिइन्।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)