डाकबङ्गला उपन्यासको अध्ययन

गद्य विविध

नवीन पौड्याल, कालिम्पोङ

आज उपन्यास विश्वको लोकप्रिय साहित्यिक विधाका रूपमा स्थापित भएको छ। यसको निश्चित स्वरूप निर्धारण गर्न कठिन भए पनि जीवन र जगत्का विविध पक्षको व्यापक चित्रण गर्नु यसको प्रमुख विशेषता हो। उपन्यासले सामाजिक यथार्थ, ऐतिहासिक घटना र मानव मनका सूक्ष्म अनुभूतिलाई समेट्दै जीवनको पुनःसिर्जना गर्दछ।

साहित्यिक संरचना भनेको विभिन्न तत्त्वहरूको योजनाबद्ध र सौन्दर्यपूर्ण संयोजन हो। उपन्यासका प्रमुख संरचनात्मक तत्त्वहरूमा कथानक, चरित्र, दृष्टिविन्दु, परिवेश, भाषा, भावपरिमण्डल र कालतत्त्व पर्दछन्।

शिवकुमार राई नेपाली साहित्यका सशक्त स्रष्टा हुन्। कविता, कथा, निबन्ध, उपन्यास र एकाङ्कीजस्ता विधामा कलम चलाएका उनले कलाकार, नाट्यनिर्देशक र राजनीतिज्ञका रूपमा पनि योगदान दिएका छन्। विशेषतः कथाकारितामा उनको स्थान उल्लेखनीय छ। प्रेम, सामाजिक द्वन्द्व, ग्राम्य जीवन, मानवीय कमजोरी र आन्तरिक अन्तर्द्वन्द्व उनका आख्यानका प्रमुख विषय हुन्। ठेट तथा ग्राम्य नेपाली भाषाको प्रयोग उनको लेखनको विशिष्टता हो।

उनको उपन्यासकारिताको अध्ययन गर्दा ‘डाकबङ्गला’ विशेष महत्त्वपूर्ण देखिन्छ। नेपाली उपन्यासमा रूपनारायण सिंहको ‘भ्रमर’बाट सुरु भएको स्वच्छन्दतावादी प्रवृत्तिलाई मोहनबहादुर मल्ल, अच्छा राई ‘रसिक’ हुँदै शिवकुमार राईले अघि बढाएका छन्।

स्वच्छन्दतावादमा आत्मपरकता, कल्पना, प्रेम, काव्यमयता, वैयक्तिक अभिव्यक्ति र शैलीगत नवीनतालाई महत्त्व दिइन्छ। यसले बाह्य यथार्थभन्दा आन्तरिक अनुभूतिलाई प्राथमिकता दिन्छ र सहज, स्वाभाविक तथा आलङ्कारिक भाषाको प्रयोग गर्दछ।

‘डाकबङ्गला’ चित्रात्मक वा मिश्रित उपन्यास हो। यसमा मुख्य तथा सहयोगी कथानक, स्थानीय रङ्ग र कथानकका आदि, मध्य तथा अन्त्य अवस्थाको निर्वाह पाइन्छ। कथानक साम्यावस्थाबाट विषमावस्थातर्फ अघि बढ्छ र अधिकांश घटनाहरू प्रेमप्रसङ्गमा केन्द्रित छन्।

६२ पृष्ठमा फैलिएको उपन्यास तीन खण्ड र जम्मा अट्ठाइस उपखण्डमा विभाजित छ।

  • पहिलो खण्ड: चन्द्रप्रकाश र कान्ताबीचको प्रेम तथा भोगविलास।
  • दोस्रो खण्ड: चन्द्रप्रकाशकी आमाको मृत्यु, रत्नाको गर्भधारण र गृह-निष्कासन।
  • तेस्रो खण्ड: बर्माका नेपालीहरूको पलायन, रत्नाको आत्महत्याको खबर र चन्द्रप्रकाशको पश्चात्ताप।

उपन्यासको कथानक वृत्ताकार छ। पूर्वदीप्ति शैलीका कारण घटनाहरू सरल रेखीय क्रममा अघि बढ्दैनन्। खण्डहर डाकबङ्गलामा आँधीबेहरीको दृश्यबाट सुरु भएको उपन्यास लगभग त्यही दृश्यमा समाप्त हुन्छ।

उपन्यासका प्रमुख विषय युवासुलभ प्रेम, राणाशासनकालीन कुलीन वर्गको भोगवादी प्रवृत्ति, दोस्रो विश्वयुद्धको प्रभाव र दार्जीलिङ तथा बर्माका नेपाली समाज हुन्।

कथानक चन्द्रप्रकाशको केन्द्रमा रहे पनि घटनाहरूको विन्यासमा केही कमजोरी छन्। चन्द्रप्रकाशको पल्टन प्रवेश, युद्धमा सहभागिता, बर्मामा कान्तालाई मृत अवस्थामा भेट्नु र नवजात शिशुको पछि उल्लेख नहुनुजस्ता प्रसङ्गहरू पर्याप्त औचित्यसहित प्रस्तुत भएका छैनन्। खण्डहर डाकबङ्गलामा भूतप्रेतको चित्रणले तिलस्मी प्रवृत्तिलाई पनि निरन्तरता दिएको छ।

उपन्यासको मूल कथानक चन्द्रप्रकाशसँग सम्बन्धित छ भने हर्कसिंह मास्टर, कान्ता, रत्ना, थामी र केवलसिंहका कथाहरू सहायक कथानकका रूपमा जोडिएका छन्। यसरी उपन्यासमा कथानकको व्यापकता भए पनि यसको बुनोट केही शिथिल छ। भौतिक तथा मानसिक द्वन्द्व र कौतूहलको प्रयोग गरिएको भए तापनि तिनको संयोजन पूर्णतः प्रभावकारी छैन।

‘डाकबङ्गला’ पात्रबहुल उपन्यास हो। भूमिकाका आधारमा यसका पात्रहरू पाँच प्रकारका छन् ।

चन्द्रप्रकाश: कामलोलुप, अल्लारे र लक्ष्यहीन युवक हो। ऊ पढाइ र सामाजिक कर्तव्यप्रति उदासीन छ। रत्ना, कान्ता र रूपाको जीवनमा नकारात्मक प्रभाव पार्छ। गल्तीको अनुभूति भए पनि बारम्बार उही गल्ती दोहोर्‍याउँछ। उपन्यासको अन्त्यतिर भने पश्चात्ताप र प्रायश्चित्तको भावना देखिन्छ।

रत्ना: सरल, निर्दोष र निरीह पात्रा हो। चन्द्रप्रकाशको प्रेमजालमा परेर गर्भवती भएपछि सामाजिक बहिष्कार र आश्रयहीनताको सामना गर्छे। अन्ततः आत्महत्या गर्छे। उपन्यासकी नायिका रत्ना नै हो।

कान्ता: चन्द्रप्रकाशलाई गहिरो प्रेम गर्ने पात्रा हो। प्रेममा धोका पाएपछि अपरिचित वृद्ध फौजीसँग विवाह गरेर बर्मा पुग्छे र त्यहाँ बच्चा जन्माउने क्रममा मृत्यु हुन्छ।

रूपा: सक्रिय, सचेत र गतिशील पात्रा हो। विद्यार्थी जीवनमा नारी जागरणका गतिविधिमा संलग्न हुन्छे र पछि बर्मामा महिला सैनिक कार्यकर्ताका रूपमा पुग्छे। अन्य नायिकाको तुलनामा उसको चरित्र बढी जीवन्त र परिस्थितिअनुकूल छ।

जर्मनसिंहको चरित्र रूपनारायण सिंहको ‘मि. एच. बी. ब्यास्नेट’को बस्नेत पात्रसँग मिल्दोजुल्दो छ। कतिपय अनावश्यक पात्रले उपन्यासलाई बोझिलो बनाएका छन्।

चरित्रचित्रण मुख्यतः प्रत्यक्ष पद्धतिमा आधारित भए पनि संवाद, हाउभाव र पत्रका माध्यमबाट परोक्ष चित्रण पनि गरिएको छ। रूपनारायण सिंहको ‘भ्रमर’बाट चन्द्रप्रकाशको चरित्रमा प्रभाव परेको देखिन्छ। तथापि चन्द्रप्रकाश इन्द्रशेखरजस्तो कर्तव्यनिष्ठ र समाजसुधारक पात्र होइन। उसको लक्ष्यहीनता र परिस्थितिअनुसार चल्ने प्रवृत्तिले उसलाई च्याप्टो पात्र बनाएको छ।

उपन्यासमा तृतीयपुरुष सर्वज्ञ दृष्टिविन्दु अपनाइएको छ। कथकले पात्रहरूको गतिविधि, विचार र मनोभाव प्रस्तुत गर्नुका साथै तिनका कार्यकलापबारे टिप्पणी पनि गरेको छ। यसैले उपन्यासमा सम्पादकीय दृष्टिविन्दुको प्रयोगसमेत पाइन्छ।

‘डाकबङ्गला’ मूलतः प्रतीकात्मक उपन्यास नभए पनि केही प्रतीकात्मक प्रयोगहरू छन्। चन्द्रप्रकाश भोगवादी सामन्ती पुरुषको प्रतिनिधि पात्र हो। रत्नाले गुलाबको फूल मुसार्नु चन्द्रप्रकाशप्रतिको प्रेमको प्रतीक हो। रूपाले चन्द्रप्रकाशलाई ‘फूलको विशेषज्ञ’ भन्नु उसको युवतीहरूलाई प्रेमजालमा पार्ने प्रवृत्तिप्रतिको व्यङ्ग्य हो।

उपन्यासमा दृश्य, श्रव्य र अन्य ऐन्द्रिक बिम्बहरूको प्रभावकारी प्रयोग गरिएको छ। पुरानो डाकबङ्गलाको भयावह चित्रणले सन्त्रास उत्पन्न गर्छ। दोस्रो विश्वयुद्धमा अङ्ग्रेजी र जापानी सेनाबीच भएको युद्धको वर्णनले पनि सजीव दृश्यबिम्ब निर्माण गरेको छ।

उपन्यासको मुख्य कालावधि लगभग चार-पाँच वर्ष भए पनि पूर्वदीप्तिका माध्यमबाट चन्द्रप्रकाशको जीवनका दस-बाह्र वर्ष समेटिएका छन्। कथानक वर्तमानबाट सुरु भएर वर्तमानमै समाप्त हुन्छ। घटनाहरू प्रायः भूतकालमा प्रस्तुत गरिएका छन् र कथाको गति केही मन्द छ।

उपन्यासको मुख्य परिवेश दार्जीलिङ बजार र सुकेपोखरीको डाकबङ्गला हो। कथाविस्तार झापा, असम र बर्मासम्म पुगेको छ। दोस्रो विश्वयुद्ध र बर्माका नेपालीहरूको पलायन यसका महत्त्वपूर्ण ऐतिहासिक पृष्ठभूमि हुन्।

दार्जीलिङे नेपाली समाजको अशिक्षा, दरिद्रता, अन्धविश्वास, मद्यपान र कुरीतिहरू चित्रित छन्। बर्माका नेपालीहरूको सैनिक तथा श्रमिक जीवन र युद्धका कारण विस्थापित हुनुपरेको पीडा पनि प्रस्तुत गरिएको छ। बाह्य परिवेशसँगै पात्रहरूको मानसिक अवस्था र भावनात्मक उतारचढावलाई प्रकृतिका माध्यमबाट व्यक्त गरिएको छ।

उपन्यासमा घटनाअघि पूर्वसङ्केत दिने भावपरिमण्डलको प्रयोग गरिएको छ। रत्नाको नराम्रो सपना, आकाशमा चिल-गिद्ध उड्नु र बिजुली चम्किनुजस्ता प्रसङ्गले उसको दुःखद भविष्य तथा मृत्युको पूर्वाभास दिन्छन्। चन्द्रप्रकाश र रत्नाको सम्बन्ध तथा दोस्रो विश्वयुद्धका घटनामा पनि यस्तो प्रविधि अपनाइएको छ।

‘डाकबङ्गला’को भाषा सरल, स्वाभाविक र ठेट नेपाली छ। लेखकीय भाषा र पात्रहरूको संवादमा ठूलो अन्तर छैन। तत्कालीन दार्जीलिङे नेपाली समाजको बोलचाल, ग्रामीण शब्द, अनुकरणात्मक शब्द र स्थानीय भाषिक स्वरूपको प्रयोगले उपन्यासलाई मौलिकता प्रदान गरेको छ।

अङ्ग्रेजी शासन र बहुभाषिक समाजको प्रभावस्वरूप हिन्दी, बङ्गाली तथा अङ्ग्रेजी शब्दहरू पनि प्रयोग भएका छन्। यद्यपि उपन्यासको मूल भाषिक स्वरूप ठेट नेपाली नै हो। उखान-तुक्का, तत्सम तथा आगन्तुक शब्दहरूको यथोचित प्रयोगले यसको भाषिक प्रभावकारिता बढाएको छ।

शिवकुमार राईको ‘डाकबङ्गला’ स्वच्छन्दतावादी प्रवृत्ति, प्रेमप्रसङ्ग, सामाजिक यथार्थ र ऐतिहासिक परिवेशको संयोजन भएको उपन्यास हो। यसको वृत्ताकार कथानक, पात्रबहुलता, सर्वज्ञ दृष्टिविन्दु, प्रतीक-बिम्ब योजना र ठेट नेपाली भाषाको प्रयोग उल्लेखनीय छन्।

कथावस्तुको बुनोट र केही पात्रहरूको चरित्रचित्रणमा कमजोरी भए तापनि उपन्यासले दार्जीलिङे नेपाली समाज, दोस्रो विश्वयुद्धको प्रभाव र बर्माका नेपालीहरूको जीवनस्थितिलाई प्रस्तुत गरेको छ। यस दृष्टिले ‘डाकबङ्गला’ नेपाली उपन्यास साहित्यको अध्ययनमा महत्त्वपूर्ण कृति हो।

०००