डा हरिकुमार श्रेष्ठ ‘शिखर’,काठमाडौं
तिमीसँग भेटेदेखि
तिम्रै मिठा यादहरूको चाङ
मेरो स्मृति-ग्रन्थका पत्रहरूमा
हर्षका सुन्दर अक्षरहरूले सजियो
अनि तिमी जुन तारा बनी
मेरो आकाशजस्तै छात्तीभित्र
धड्कँदै चम्किरह्यौ
पिरतिको ज्योती बोकेर ।
अहिले जब तिमी
अतितको प्राणी बन्दै गयौ
मेरो पीडाको आँसु
अबिरल बग्दै छ
सम्झनाको कारवा बोकेर
दोभानमा भेट हुने आशामा ।
०००
कवि परिचयः डा. हरिकुमार श्रेष्ठको जन्म पालुङ्टार नगरपालिका—६ मा भएको हो र हाल उनी नागार्जुन–१०, काठाडौँमा बस्छन् । उनले सयौँ फूटकर कविता, गजल र नियात्रासम्बन्धी लेखहरू प्रकाशन गरेका छन् भने उनका प्रकाशित कृतिहरुमा एक कविता सङ्ग्रह “फर्मोसाबाट नेपाली सुस्केरा” र दुई गजलसङ्ग्रहहरू “आँकुरा” र “तरङ्ग” गरी तीनवटा किताबहरू प्रकाशित छन् ।
