साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान कृष्णभक्त महर्जनलाई प्रदान गरिने

मुख्य समाचार

२५ मंसिर २०८२, काठमाडौं

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले विसं २०७९ देखि प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको रू.२५ हजार राशिको “साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान” विसं २०८२ को लागि वरिष्ठ कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिने भएको छ ।
पहिलो बर्ष २०७९ सालमा बालसाहित्य लेखन, सम्पादन, पत्रिका र पुस्तक प्रकाशन, कथावाचन र बालबालिकालाई लेखन्कार्यमा अघि बढ्न अभिप्रेरणा दिनुहुने शान्तदास मानन्धरलाई, २०८० सालमा बालसाहित्यका सयौं पुस्तकमा आवरण र भित्री चित्र बनाउनुहुने टेकवीर मुखियालाई र २०८१ सालमा ३० को दशकमै रेडियो नेपालमार्फत बालगीतको गायन, बाल कार्यक्रमको संचालन र बालअधिकारको प्रवर्द्धनमा अतुलनीय योगदान गर्नुहुने नुपूर भट्टाचार्यलाई प्रदान गरिएको थियो ।
नेपाली साहित्यका क्षेत्रमा वाल साहित्यदेखि पौढ साहित्य सम्ममा तीसको दशकदेखि अथक योगदान पु-याइरहनुभएका साहित्यकार प्रमोद प्रधान, उनकी पत्नी ब्युटी श्रेष्ठ तथा उनीहरूकी छोरी सृष्टि प्रधानले ५ लाखको अक्षयकोष स्थापना गरी सञ्चालनमा आएको यो पुरस्कार बालसाहित्य, बालचित्रकारिता, बालसङ्गीत र गायन, बालबालिकालाई नृत्य र अभिनय प्रशिक्षण जस्ता सिर्जनात्मक कार्यमा ३० वर्षभन्दा लामो समयदेखि समर्पित स्रष्टालाई यो सम्मान प्रदान गरिने प्रावधान छ ।
यो सम्मान २०८२ मङ्सिर २७ गते नाफा हलमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरिने समेत जनाइएको छ ।

०००