२३ मंसिर २०८२, काठमाडौं ।
वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई विभिन्न एकसय एक साहित्यिक संस्थाहरुले भक्तपुर लोकन्थली थिमी चन्द निवासमा हिजो सामूहिक अभिनन्दन गर्यो ।
सो समारोहमा अभिनन्दन समारोह समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले चन्द तथा उनकी धर्मपत्नीलाई दोसल्ला, टोपी, दुवो र फूलको माला लगाएर फूल वर्षासहित कद बराबरको अभिनन्दनपत्र प्रदान गरेका थिए । सो अवसरमा चन्दलाई सगुन पनि दिइएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम बैतडीको स्थानीय कलाकारहरूले लोक नृत्य छलिया प्रस्तुत गरिनुका साथै बाजागाजासहितले अभिनन्दन समारोको रौनक बढेको थियो । सो अवसरमा चर्चित सङ्गीतकार एवं गायक नरहरि प्रेमीले विभिन्न गीतहरु गाएका थिए।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
सो समारोहमा जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले अभिनन्दनपत्र वाचन गरेका थिए ।
परिवारका तर्फबाट चन्दका छोरा पूर्व मन्त्री जयन्त चन्दले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको उद्घोषण साहित्यकार मोमिलाले गरेकी थिइन्।
०००
