‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ समर्पण

मुख्य समाचार

६ चैत २०८१, काठमाडौं

नेपाल स्रष्टा समाज, केन्द्रीय समितिले चैत ५ गते एक कार्यक्रमको आयोजना गरी ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ पहिलोपल्ट आख्यानकारद्वय ध्रुव सापकोटा र गणेश रसिकलाई संयुक्तरूपमा समर्पण गरिएको छ । एकलाख राशीको सो सम्मान दुई स्रष्टालाई ५० हजार १०१ का दरले दामासाही प्रदान गरिएको हो । यी दुई स्रष्टालाई नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत प्रदान गरिएको हो ।

साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित छनोट समितिको सिफारिस अनुसार यो सम्मानको निर्णय भएको थियो ।
स्वास्थ्यको कारण समारोहमा गणेश रसिक भने उपस्थित हुन सकेनन् ।
कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन लगायतले परशु प्रधानको नेपाली साहित्यमा योगदानको चर्चा गर्दै सम्मानित स्रष्टाहरूको वारेमा समेत चर्चा गरेका थिए ।
सो अवसरमा परशु प्रधानका सुपुत्र प्रतीक प्रधानले नेपाली साहित्यमा योगदान दिने सही व्यक्तिलाई सम्मान गर्ने प्रयास गरेको बताउँदै साहित्यमा लाग्नेलाई प्रेरणा होस् भनेर यो सम्मान स्थापना गरेको बताए । साथै उनले सम्मानको राशि सम्भव भएसम्म आगामी दिनमा बढाउँदै जाने समेत वताए ।

प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रमको शुरुमा शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए ।
पुरस्कार वितरण समारोहमा उपस्थित हुन नसकेका पुरस्कृत अर्का प्रतिभा गणेश रसिकलाई उनकै निवासमा गई ६ गते नगदसहितको सम्मान अर्पण गरिएको थियो । सो का लागि पुरस्कार संस्थापकको तर्फबाट प्रतीक प्रधान तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रद्युम्न जोशी लगायत उपस्थित थिए ।

०००

 

 

Leave a Reply