नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलवहादुर क्षेत्रीको १३ मार्च राती १०.१० बजे आफ्नै निवास मरिखाली गुवाहाटीमा निधन भएको छ । सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मेका उनी ९३ वर्षका थिए ।
१६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्य जगतमा उदाएका उनको पहिलो उपन्यास “बसाईं” वि.सं. २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो । पछि साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक विक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ ।
त्यसपछि पनि उनका “अतृप्ति”, “ब्रम्हपुत्रका छेउछाउ”, “प्रतिध्वनिहरू विस्मृतिका” उपन्यासहरू प्रकाशित भए ।
उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका “तीन दशक बीस अभिव्यक्ति”, “लीलबहादुरका कथाहरू” तथा “छरिएको बिस्कुन” कथा कृतिहरू समेत प्रकाशित छन् ।
उनका “दोबाटो”, “माग” तथा “शुरुको शुरु” “चर्चित नाटकहरू” नाट्य कृतिहरू समेत प्रकाशित छन् । “असममा नेपाली भाषाको साहो-गाह्रो “, “पूर्वाञ्चल भारतीय नेपाली कथा-साहित्य र पत्रकारिताको इतिवृत”, “झ्याउरे पार्टीमा लाग्दा”, “पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन”, “सिमलको भुवा”, “अतीतका ऐनामा विविध झाँकीहरू” लगायत गैर आख्यान कृतिहरू समेत प्रकाशित छन् ।
उनको हालै सबै उपन्यास एकसाथ “समग्र उपन्यास”का रुपमा प्रकाशित भएको थियो
उनले आफ्नो जीवनकालमा नेपाल तथा भारतका अनेकन प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए । जसमध्ये मदन स्मारक व्याख्यानमाला सम्मान’, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तराष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायत रहेका छन् ।
उनले भारतको प्रतिष्ठित पद्मश्री समेत भारतीय पाष्ट्रपतिवाट सन् २०२० मा प्राप्त गरेका थिए ।
***

दिवंगत विशिष्ट साहित्य साधक लीलबहादुर छेत्रीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दैछु ।