१६ कार्तिक २०८३, काठमाडौं ।
नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा ‘उन्नती बोहरा शीला गीत पुरस्कार मञ्च’को आयोजनामा ‘फर्की आऊ शान्ति तिमी उन्नती शीला सङ्गीत समर्पण साँझ–२०८३ सम्पन्न भयो ।
सो कार्यक्रममा विगत ६ दशकदेखि नेपाली साहित्य र सङ्गीत आकाशलाई आफ्ना मर्मस्पर्शी शब्दहरूद्वारा सिञ्चित गर्दै आउनुभएकी वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’ को ६० वर्षे साहित्यिक यात्राको अवसरमा सङ्गीत रत्न शम्भूजीत बासकोटालाई नगद राशि एकलाख एकाउन्न हजारसहित अभिनन्दन गरियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघ, गुन्जन नारी साहित्य संस्था, शंकर लामिछाने प्रतिष्ठान, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, रमाकृष्ण सिर्जना प्रतिष्ठान, नानी साहित्य प्रतिष्ठान, प्रमोदराज पाण्डे-सावित्री पाण्डे स्मृति प्रतिष्ठान, भद्रकुमारी घले सेवा सदन तथा मानचित्र पब्लिकेशन प्रा. लि., वनिता साहित्यिक पत्रिका र दोभान साहित्यिक पत्रिकाले सामूहिक बधाईपत्र प्रदान गरेका थिए ।
त्यस अवसरमा मीरा राणा, प्रमोद खरेल, कर्णदास, आनन्द कार्की, जगदीश समाल, सुरेश लामा, विश्व नेपाली, टीका प्रसाईं, बानिका प्रधान, सङ्गीता राणा प्रधान, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य र सरिता शाहीलगायत ख्यातिप्राप्त गायक–गायिकाले शीलाका गीत प्रस्तुत गर्नुभएको थियो । ती गीतहरूा २१ जना वाद्यवादकलाई वरिष्ठ सङ्गीतकार तथा सङ्गीत संयोजक मनोहर सुनामले सञ्चालन गरेका थिए ।
मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता मन्चकी अध्यक्ष प्राज्ञ उन्नती बोहरा शीलाले गरेकी थिइन् । ।
कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार शीलाले आफूले जीवन नै गीत सिर्जना र साहित्यमा समर्पण गरेको बताइन् ।
सो अवसरमा गायिका तथा सङ्गीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, वरिष्ठ गायक कर्ण दास, कलापत्रकार राजाराम फुयाल र डब्बु क्षेत्री, सङ्गीतकार तथा संयोजक मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही तथा नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
शीलाका ‘कोसेली उसैलाई’, ‘भावनाका तरङ्ग’, ‘अदृश्य घाउ’ र ‘सिक्काका दुई पाटा’ लगायत कृतिहरु प्रकाशित रहेका छन् ।
महिला गीतकार सङ्घको संस्थापक अध्यक्षसमेत रहनु भएकी शीला शंकर लामिछाने प्रतिष्ठान, साहित्यिक पत्रकार संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा सक्रिय छिन् ।कार्यक्रमको सो कार्यक्रम पत्रकार हेम सुवेदी र सेसेमी लिम्बूले सञ्चालन गरेका थिए ।
०००
