विजय चालिसे र पवन आलोकलाई “शङ्कर लामिछाने पुरस्कार” घोषणा

मुख्य समाचार

२९ फागुन २०८१, काठमाडौं ।

शङ्कर लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको ५० हजार राशिसहितको शङ्कर लामिछाने निबन्ध पुरस्कार विजय चालिसेलाई तथा २५ हजार राशिसहितको शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार पवन आलोकलाई प्रदान गर्ने निर्णय
गरेको छ । यो निर्णय शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
यी पुरस्कारहरु शङ्कर लामिछानेको ९८ औं जन्मजयन्तीका अवसरमा २०८१ चैत ५ गते एक समारोका वीच प्रदान गरिनेछ ।
शङ्कर लामिछाने पुरस्कार प्राप्त गर्ने विजय चालिसेका डोटेली लोकसंस्कृति (लोकसाहित्य) र अप्रिलको बेलायत (नियात्रा, २०४५), मनका तूलिकामा स्मृतिका बिम्बहरू (नियात्रा, २०६३), ओह्…नेपारु (नियात्रा, २०७३), मरुभूमिको फूल (निबन्ध, २०७७), सर्पदंशित मेरो वर्तमान (संस्मरण, २०७७), परिशीलन (निबन्ध, २०७७), जीवनका वक्ररेखा (आत्मसंस्मरण २०७८) लगायत विभिन्न गद्य कृतिहरु प्रकाशित छन् ।
त्यस्तै युवा निबन्ध पुरस्कार प्राप्त गर्ने पवन आलोकका युरोपको झझल्को (नियात्रा, २०६७), अरुण एक्स्प्रेस (यात्राउपन्यास २०७३), केही सम्झना : केही सिर्जना (निबन्धसङ्ग्रह, २०७३) लगायत विभिन्न गद्या कृतिहरु प्रकाशित छन्।
प्रतिष्ठानले यसअघि शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकारहरू कृष्णचन्द्रसिंह प्रधान, प्रा. डा. दुर्गाप्रसाद भण्डारी, डा. तारानाथ शर्मा, श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा. डा. माधवप्रसाद पोखरेललाई प्रदान गरिसकेको छ भने शङ्कर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमककुमारी घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी किशोर, मोमिला जोशी, प्रतीक ढकाल, ज्ञानेन्द्र विवशलाई प्रदान गरिसकेको छ ।
साथै शङ्कर लामिछाने सम्मानबाट वरिष्ठ सर्जकहरू मदनमणि दीक्षित (२०७३), लोकेन्द्रबहादुर चन्द (२०७५), भैरव रिसाल (२०७७), भैरवबहादुर थापा (२०७८) र तेजेश्वरबाबु ग्वंग: (२०७९) अभिनन्दित भइसक्नु भएको छ ।

Leave a Reply