मधुपर्कको ५८औँ वार्षिकोत्सवमा स्रष्टाहरू पुरस्कृत

मुख्य समाचार

३० जेठ २०८२, काठमाडौं

मधुपर्कको ५८औँ वार्षिकोत्सव तथा मधुपर्क साहित्य सम्मान कार्यक्रम एक समारोहका बीच काठमाडौंमा सम्पन्न भएको छ । पचास हजार नगद सहितको मधुपर्क साहित्य सम्मान पद्यतर्फ कवि ज्ञान उदास, गद्यतर्फ आख्यानकार ध्रुव सापकोटा तथा खुला प्रतिभातर्फ आख्यानकार पद्मावती सिंहलाई प्रमुख अतिथि साहित्यकार डा.राजेन्द्र विमलले पुरस्कार हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. राजेन्द्र विमलले साहित्यिक सहोदरहरूलाई सम्मान गर्न पाएकोमा आफैँ सम्मानित भएको महसुस गरेको बताउँदै मधुपर्कसँगको आफ्नो सम्बन्ध आमा छोराको जस्तै रहेको बताए।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले मधुपर्क नेपाली साहित्यको पाठशाला भएकोले गौरव पूर्ण इतिहास बोकेको मधुपर्कमा रचना छापिएपछि साहित्यकार मानिने चलन अहिलेसम्म कायम रहेको बताए।
समारोहमा पुरस्कार एवम् सम्मान समितिका संयोजक कृष्ण गौतमले छनौट प्रक्रियाबारे बोल्दै शुभकामना मन्तव्य पनि राखेका थिए।
मधुपर्कका सम्पादक त्रिभुवन चन्द्र वाग्लेले साहित्यकारहरूकै मायाले गर्दा मधुपर्कको अस्तित्व रहेको हुँदा साहित्यकारहरूको सम्मान गर्दा मधुपर्कको नै सम्मानित भएको बताए।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू ध्रुव सापकोटा,ज्ञान उदास तथा पद्मावती सिंहले पनि आ-आफ्ना मन्तव्य राखेका थिए।
सो कार्यक्रमको सहजी करण तथा सञ्चालन मधुपर्कका सह सम्पादक लक्ष्मी खतिवडाले गरेकी थिइन्।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)