विराटनगरमा तीन साहित्यिक पुरस्कारहरूको स्थापना

मुख्य समाचार

१६ माघ २०८१, विराटनगर ।

नेपाली साहित्यको क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रतिभाहरुलाई हरेक वर्ष प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रियस्तरका पुरस्कारहरुको स्थापना गरिएको छ ।

मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश, विराटनगरको तर्फबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्यिक पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष अग्रज कवि एवम् समालोचक व्यक्तित्व बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको मूल रकमबाट वार्षिक रूपमा प्राप्त हुने ब्याज रकमबाट हरेक वर्ष राष्ट्रिय स्तरका साहित्यिक प्रतिभाहरुलाई प्रदान गर्ने गरी मनमाया दाहाल तथा उहाँका छोराछोरीहरूको तर्फबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि १११११ /-, मनोहरि पोखरेल र बाबुराम पोखरेलको तर्फबाट स्थापित माधव- नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १११११ /- र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार व्यक्तित्व सीताराम पोखरेलको तर्फबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५००० /- रहेको छ ।

कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी व्यक्तित्व विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा मन्तव्य राख्नुभएको थियो। त्यस्तै संस्थापक परिवारकी सदस्य युवाकवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएको हुनाले नेपाली समाजलाई सकारात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको बताइन् । कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गरे ! विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार व्यक्तित्व बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष  मधु पोखरेल,  नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतका व्यक्तित्वहरुले दाताहरूप्रति  सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सो कार्यक्रममा भूषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेल नवशिला लगायतका मुक्तककारहरूले मुक्तक वाचन गरेका थिए ।

आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीद्वारा  सञ्चालन गरिएको सो कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राखेका थिए ।

(मिलन समिर स्कोयाङ्जाको सहयोगमा)

Leave a Reply