टोखामा मोती जयन्तीमा कार्यक्रम सम्पन्न

मुख्य समाचार

८ भदौ २०८२, काठमाडौं

युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीद्वारा आयोजित कवि प्रा.नारायणप्रसाद कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोतीराम भट्ट सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरियो ।
कार्यक्रमको सुरुमा छहरा साहित्य समाजका सचिव भोला प्रेमीले स्वागत मन्तव्यका साथ कार्यक्रम प्रारम्भ गरेका थिए ।
सो कार्यक्रममा कवि तोया गौतमले मोतीरामको योगदान बारे चर्चा गर्दै श्रृङ्गार रसको एक टुक्रा कविता पनि वाचन गरे । प्रा. गङ्गाधर कट्टेलले अङ्रेजी कवि मिल्टनको प्रसङ्ग समेत उल्लेख गरी मोतीरामका विशेष प्रवृत्तिहरु बारे चर्चा गरे । उनले “बालेर बत्ती गयो” शीर्षक एक कविता वाचन गरे । कवि भोला प्रेमीले “मोतीराम भट्टको सम्झनामा” शीर्षक एक श्रृङ्गारिक कविता वाचन गरे ।
प्रमुख अतिथि नारायणप्रसाद कट्टेलले मोतीरामको स्मरण गर्दै उनको योगदान बारे चर्चा गरे । उनले विदेशमा बसेको युवक स्वदेश फर्कने कामना गर्दै आफ्नो कविता “भाषै त हो उन्नयनको निम्ति” वाचन गरे । बालकवयित्री सारा तिमिल्सिनाले मोतीराम भट्टको कृति पिकदूतबाट साभार “बर्षाका ऋतुमा बडा विरहमा, एकलै बसैँ झ्यालमा” बोलको एक प्रेमिल कविता वाचन गरिन् ।
कवि आनन्द पाड्यालले “मोतीको सम्झना” शीर्षक एक कविता वाचन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले युवाकवि मोतीराम भट्टको स्मरण गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।