मासिक कथा वाचनको उन्नाइसौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२६ बैशाख २०८२, काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने अभियान अन्तर्गत शुरू गरिएको प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने मासिक कथा वाचन कार्यक्रमको १९ औँ शृङ्खला सम्पन्न भएको छ।
उन्नाइसौं शृङ्खलामा पाँच जना कथाकारहरूले कथा वाचन गरेका थिए । कथाकार इस्मालीले चालीसको दशकको’विडम्बना’शीर्षकको कथा,सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले चालिसको दशकको’अभिनयांश’शीर्षकको कथा,इन्दिरा प्रसाईले साठीको दशकको’बिहे अघिको रात’ शीर्षकको कथा,हिरण्यकुमारी पाठकले साठीको दशकको ‘लिभिङ टुगेदर’शीर्षकको कथा,रमेशजंग थापाले सत्तरी दशकको’मास्कमा खल्ती’शीर्षकको कथा वाचन गरेका थिए।
दिवङ्गत भइसकेका कथाकारको कथा वाचन गर्ने क्रममा तारणीप्रसाद कोइरालाको ‘आमाको हृदय’कथालाई शुकदेव उपाध्यायले वाचन गरेका थिए ।
यस अभियानका परिकल्पनाकार पुष्कर लोहनीले यस अभियान सानो कोठाबाट शुरू भए पनि यसले साहित्यिक क्षेत्रमा केही हलचल ल्याइसकेको कुरा बताएका छन्।कथा वाचन र श्रवण को चर्चा गर्दै उनले यसै अभियानमा कथाकार रूपनारायण सिंह,रूद्रराज पाण्डे तथा विष्णुचरण श्रेष्ठका कथाका बारेमा समेत स्मरण गरेका थिए।
अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले यस
अभियानलाई १९ औँ शृङ्खलासम्म ल्याइपुर्याउन सहयोग गर्ने सबै साहित्यकारहरूप्रति आभार प्रकट गर्दै वाचन गरिएका कथाहरूका बारेमा टिप्पणी गर्ने,समीक्षा गर्ने वा समालोचना गर्ने कार्यको थालनी नभएकोमा प्राविधिक कठिनाइ रहेको बताए।साथै,उनले यसतर्फ अभियानको विशेष ध्यान रहेको समेत उल्लेख गरेका थिए।
कार्यक्रमको सञ्चालन उपन्यासकार शुकदेव उपाध्यायले गरेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)

 

Leave a Reply