मासिक कथावाचन कार्यक्रमको पचीसौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२६ मंसिर २०८२, काठमाडौं

प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको पचीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने परम्परा अनुसार यस पटक केशवराज पिँडालीको कथा ‘परदेशी’ कथाकार इन्दिरा प्रसाईले वाचन गरेकी थिइन् ।
त्यसपछि कथाकार शैलेन्द्र साकारले ‘रामायण’, कथाकार इल्या भट्टराईले ‘उसको मन परिवर्तन नहोस्’, कथाकार प्रमोद प्याकुरेलले ‘अनिँदो हिमाल’ शीर्षकको कथा वाचन गरेका थिए ।
वाचित कथाहरूमाथि समीक्षक अनिता कोइरालाले टिप्पणी गरेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा यस अभियानका परिकल्पनाकार पुष्कर लोहनीले अभियानको आवश्यकताबारे संक्षिप्त प्रकाश पार्दै अहिलेसम्म प्राप्त सफलतामा खुशी व्यक्त गरे । उनले कथाकार विजयबहादुर मल्लको शतवार्षिकीको अवसरमा आगामी माघ महिनाको कार्यक्रम उहाँका कथामा केन्द्रित हुने जानकारी गराए ।
सो कार्यक्रमको संचालन आख्यानकार शुकदेव उपाध्यायले गरेका थिए ।
स्मरणीय छ, साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा उक्त कार्यक्रम २०८० साउनदेखि निरन्तर सञ्चालन भइरहेको छ ।