२७ साउन २०२८, काठमाडौं ।
कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी,एस्पी कोइराला, डा.नवराज लम्साल, डा. देवी नेपाल, विमला तुम्खेवा, कवयित्री स्वयम् सहित मञ्चासिन व्यक्तिहरुले सामुहिक विमोचन गरे ।
कार्यक्रममा प्रमुख अथिति दिनेश अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए ।
कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरुमात्र होइन अवसाद र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताए । कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताए । कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको प्यासेनले आफु संवेदित बनेको बताए ।
त्यसअवसरमा कवि एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बालककालदेखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको बताइन् । साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने बताए ।
कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले बिमोचित पुस्तकका कविताहरु वाचन गरे । एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयोग चाहेको बताए । एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएका छन् । कवि तथा कलाकार रमेश श्रेष्ठको आवरण रहेको यस कृतिमा वरिष्ठ कविवर वैरागी काइँलाले भूमिका लेखेका छन् ।
