२० सेप्टेम्बर २०२६, नर्थ क्यारोलाइना, अमेरिका
नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अमेरिकाको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहट्टाद्वारा लिखित यात्रासंस्मरण ‘परदेश र अनुभूति’ को विमोचन कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्याल, सभापति गीता बस्नेत, ईश्वर देवकोटा र श्रीमती उमादेवी मरहट्टा, डा. बालकृष्ण मरहट्टा, ददीन पाण्डेले संयुक्त रूपमा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्यालले कृति प्रकाशनका लागि प्रा. मरहट्टालाई बधाई ज्ञापन गर्दै उहाँको कृतिकारको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । उनले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता साहित्यिक गतिविधिको महत्वपूर्ण भूमिका रहने बताए ।
कृतिमाथि कविद्वय उमा शर्मा र डा. शरद पराशर मरहट्टाले समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रा. केशव सुवेदी, प्रा. डा. जगतप्रसाद उपाध्याय, डा. नीलम कार्की ‘निहारिका’, कपिल खनाल, डा. ह्यारी भण्डारी, पदम विश्वकर्मा, ददीन पाण्डे, हरिहर अर्याल, केदारनाथ खनाल, डा प्रभा कैनी, ईश्वर देवकोटा, डा. बालकृष्ण शर्मा तथा परिवारका तर्फबाट पुस्तकका प्रकाशक विश्वनाथ मरहट्टालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले प्रा. शिवहरि मरहट्टालाई सम्मानपत्र प्रदान गरेको थियो।
कृतिकार प्रा. शिवहरि मरहट्टाले कार्यक्रममा सहभागी अतिथि, वक्ता, समीक्षक, आयोजक, प्रकाशक, परिवारजन, शुभेच्छुक तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष श्रीमती गीता बस्नेतको सभापतित्व तथा एनआरएनए अमेरिका, भाषा–साहित्य समितिका अध्यक्ष एवं साहित्यकार राजेन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकबाट साहित्यकार, विद्वान् तथा साहित्यप्रेमीहरूको प्रत्यक्ष एवं भर्चुअल सहभागिता रहेको थियो।
साहित्यकार डा. ऋषि बस्ताकोटीद्वारा सञ्चालित सो कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा डा. बस्ताकोटीले कृतिकार प्रा. शिवहरि मरहट्टाको साहित्यिक तथा प्राज्ञिक परिचय प्रस्तुत गरेका थिए । साथै प्रभा पोखरेलले कृतिमा समावेश केही रचना वाचन गरेकी थिइन् ।
कार्यक्रमकी सभापति गीता बस्नेतको मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो।
०००
