२६ भदौ २०८३, काठमाडौं
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार घट्टेकुलो, डिल्लीबजार काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको चौंतीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले सम्पूर्ण अतिथिहरुको स्वागत गर्दै नेपाली कथाहरूको कालखण्डगत विकासक्रमबारे अध्ययन अनुसन्धान गर्ने र नयाँ नयाँ धारका कथा लेख्न प्रेरित गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको कुरा बताए
कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार स्रष्टा माधवलाल कर्माचार्यको ‘तिनको रीस’ शीर्षकको कथा कथाकार इल्या भट्टराईले वाचन गरेकी थिइन् ।
कार्यक्रममा कथाकार जलेश्वरी श्रेष्ठले २०६० को दशकमा प्रकाशित ‘चिसिएको रगत’ तथा वयोबृद्ध कथाकार माधवप्रसाद गौतमले ‘मेघिया’ शिर्षकका कथाहरूवाचन गरे ।
कथावाचनपछि यी दुवै कथाका विविध पक्षबारे गम्भीर श्रोताहरु शैलेन्द्र साकार, हरिश कल्पित, चेतनाथ कणेल ‘हरित’, हरिबोल आचार्य, निर्मला ढुङ्गाना, गोकुल अधिकारी, देवा अधिकारी, तोया गौतम आदिले अनेकौं जिज्ञासाहरु सम्बन्धित कथाकारहरुसमक्ष राखेका थिए । ती सबै जिज्ञासाहरुलाई दुवै कथाकारहरुले रोचक ढङ्गमा सम्बोधन गरेका थिए।
कार्यक्रमको अन्त्यमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले समापन मन्तव्यमा नेपाली कथासाहित्यको विकासक्रमबारेमा संक्षिप्त प्रकाश पार्दै भने, “यसको शुरुवात १९९१ सालदेखि नै भएको हो । यो बिभिन्न मोड हुँदै यहाँ आइपुगेको छ । आधुनिक नेपाली कथाको शुरुवात भवानी भिक्षुले गरेका हुन् । उनी शारदाको प्रकाशनदेखि नै त्यससँग जोडिएका थिए ।”
०००
