नवीन पौड्याल, कालिम्पोङ
सिर्जना र समालोचना साहित्यका एक–अर्काका पूरक हुन्। सिर्जनाविना समालोचनाको स्वतन्त्र अस्तित्व रहँदैन, किनकि समालोचनाको मूल आधार नै साहित्यिक सिर्जना हो। अर्कोतर्फ सिर्जना पनि समालोचना चाहिन्छ। यसलाई पनि आफ्नो वास्तविक महत्त्व, गुण–दोष तथा साहित्यिक मूल्य स्थापित गर्न समालोचनाको उत्तिकै आवश्यकता पर्दछ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन र व्यापक साहित्यिक संसारमा आफ्नो उचित स्थान बनाउन सक्दैन। किनकि समालोचनाले नै कृतिका विविध पक्षहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्दै त्यसको अन्तर्निहित सौन्दर्य, सामर्थ्य, सीमा तथा विशिष्टतालाई प्रकाशमा ल्याउने कार्य गर्दछ। कृतिसँगै कृतिकार चिनाउँछ।
समालोचनाले सिर्जनालाई केवल राम्रो वा नराम्रो भन्ने सीमित निर्णय मात्र दिँदैन, बरु कृतिको भावभूमि, विषयवस्तु, शिल्प, भाषा, शैली, वैचारिकता र कलात्मक पक्षको गहिरो विवेचना गरी त्यसको साहित्यिक महत्त्व निर्धारण गर्दछ। यस अर्थमा सिर्जना साहित्यको मूल स्रोत हो भने समालोचना त्यस सिर्जनालाई बुझ्ने, व्याख्या गर्ने र उचित मूल्य प्रदान गर्ने विवेकपूर्ण दृष्टि हो। एउटा सिर्जनाले साहित्यिक संसारलाई समृद्ध तुल्याउँछ भने समालोचनाले त्यसको अर्थ, महत्त्व र प्रभावलाई पाठकसमक्ष स्पष्ट पार्दै साहित्यिक चेतनालाई अझ परिष्कृत र समुन्नत बनाउँछ।
यसरी सिर्जना र समालोचना एक–अर्काका विरोधी नभई साहित्यिक यात्राका सहयात्री हुन्। सिर्जनाले साहित्यलाई जीवन्तता र नवीनता प्रदान गर्दछ भने समालोचनाले त्यसलाई दिशा, दृष्टि र मूल्यबोध प्रदान गर्दछ। यी दुवै पक्षको स्वस्थ, सन्तुलित र सक्रिय विकासबाट नै साहित्यको समग्र उन्नति, परिष्कार र समृद्धि सम्भव हुन्छ। समालोचना पनि एकप्रकारले सिर्जना हो। यसैकारण अचेल यसलाई सिर्जनात्मक समालोचना पनि मानिन्छ।
आजकल समालोचनाका नाममा पाठकीय टिप्पणी, सतही अध्ययन, केवल भावपक्षको उल्लेख, अन्धप्रशंसा, तथा कृतिभन्दा कृतिकारलाई बढी प्राथमिकता दिने प्रवृत्ति व्यापक रूपमा देखिन्छ। कृति नै राम्रोसँग नपढी त्यसको बाहिरी पक्षको मात्र उल्लेख गरिएका कुरालाई पनि सालाखाला रूपमा समालोचना भनिनु उचित होइन। अझ अभिनन्दन ग्रन्थहरूको नाममा व्यक्तिस्तुति र प्रशस्ति लेखनको बाहुल्य पाइन्छ। यसले कृतिको यथार्थ मूल्याङ्कन गर्न नसकी समालोचनालाई सही दिशातर्फ उन्मुख गराउन असफल बनाउँछ। समालोचनामा “कृतिमा के छ?” मात्र होइन, “कृति कसरी निर्माण भएको छ?” भन्ने पक्षलाई समेत उजागर गरिनुपर्छ। सान्दर्भिकता, सङ्केत, शैली, संरचना तथा भाषिक पक्षको विश्लेषण आवश्यक हुन्छ। समालोचकले गुणदर्शनसँगै दोषदर्शन पनि निष्पक्ष रूपमा प्रस्तुत गर्न सक्नुपर्छ।
डा राजकुमार छेत्री- व्यक्तित्व र कृतित्व
डा राजकुमार छेत्री अहिलेको नेपाली समालोचनामा छाइरहने एउटा प्रखर नाम हो। उनलाई अब अलङ्कार भरेर परिचय दिइरहनुपर्ने आवश्यकता छैन। उनको लेखकीय परिचय त उनकै विभिन्न समालोचनात्मक लेखहरूले दिइहाल्छन्। उनका समालोचनाधर्मी सिर्जनशील कलम दिनानुदिन नयाँ बान्की र परिपाटी लिएर देखा पर्दछ। अहिलेका नयाँ पुस्ताका समालोचकहरूको हाँचमा डा छेत्रीको स्थान नेतृत्व पङ्क्तिमा रहेको देखिन्छ। कृति अध्ययनका नयाँ फाँट, सिद्धान्त, पद्धति र दृष्टिकोणको विस्तार भइरहेको क्रममा उनी पनि यसतर्फ अघि बढेका छन्।
डा. राजकुमार छेत्रीको जन्म २४ मई, १९७३ मा दार्जिलिङको नागरी चियाकमानको मगरजुङमा पिता स्व. मनबहादुर कार्की र माता मनमाया कार्कीको कान्छा छोराको रूपमा भएको हो। स्थानीय प्राथमिक पाठशालामा प्रथामिक शिक्षा र नागरीफार्म उच्चतर विद्यालयबाट बाहौं श्रेणी उत्तीर्ण गरेपछि खरसाङ कलेजबाट नेपाली विषयमा सम्मानसहित स्नातक र उत्तर बङ्गाल विश्वविद्यालयबाट क्रमशः स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरेका हुन्। उनी दार्जिलिङ सरकारी महाविद्यालयमा उप प्राध्यापकको पदमा रही सेवारत छन्। उनी विद्यालयमा पढ्दादेखि नै साहित्यमा रूचि लिनेगर्थे। कविता पाठ, नाट्यमञ्चन, तर्कसभा, पत्रिका सम्पादन आदिमा सक्रिय थिए। उनी कलेज पढ्दा नै काठमाडौंको मधुपर्कमा समालोचनात्मक लेख प्रकाशित गरेका थिए। उनी समालोचनाका साथै कविता लेखनमा पनि देखा पर्छन्। उनको एउटा कवितासङ्ग्रह शब्दहरूको देशमा (२०२३) मा प्रकाशित भएको छ। कहिले यदाकदा निबन्ध पनि प्रकाशित देखिन्छ यद्यपि उनी मूल समालोचक नै हुन्। उनी दिनरात साहित्य चर्चा गर्छन्, साहित्य गोष्ठी, कार्यक्रमतिर उपस्थित हुन्छन्, स्नातक र स्नातकोत्तर तहमा साहित्य अध्यापन गर्छन्, साहित्यिक पुस्तकको राम्रो सङ्कलन गरेका छन् जो राम्रो अध्ययन गर्छन्।
यता भारतीय नेपाली समालोचना क्षेत्रमा अघिल्लो पुस्ताका समालोचकहरूलाई सघाउन नयाँ पुस्ताका समालोचकहरू पनि तयार हुँदैछन्। अब युवा पुस्ताका लेखकहरूले आफ्नो अध्ययनलाई अझ तिखार्दै लगेर यस समालोचनाको फाँटलाई फैलाउनुपर्नेछ। अतः यस दिशामा हाम्रा डा राजकुमार छेत्रीहरूजस्ता उद्यमी, लगनशील र जाँगरिला समालोचक आएकामा हामी आमपाठकका निम्ति खुसीको कुरा हो।
आजसम्म डा छेत्रीका ‘सिर्जनाको समावलोकन’, ‘अवलोकन अवबोधन’, ‘कृति आलोकन’, ‘दृष्टिपथ’, ‘अक्षरका आयाम’, ‘पूर्ण राई’ जस्ता समालोचनात्मक ग्रन्थ प्रकाशित छन् भने ‘शिवकुमार राई रचना सञ्चयन’को कुशल सम्पादन पनि सम्पन्न गरिसकेका छन्। उनले विभिन्न स्रष्टाहरूलाई लिएका अन्तर्वार्ताहरूको सङ्गालो ‘अक्षरहरूमा संवाद’ (२०१८) पनि प्रकाशित गरेका छन्। समालोचना क्षेत्रमा उनका सातवटा गहकिला पुस्तकहरू प्रकाशित भएका छन्। यो खुसीको कुरा हो। उनी आफ्नो समालोचनामा कृति र कृतित्वमाथि प्रकाश पार्दछन्, जुन प्राज्ञिक किसिमको हुन्छ। उनी अनुसन्धानमा लागेका बेला विविध साहित्यिक सिद्धान्तहरूको अध्ययन गरी त्यसैलाई अन्य कृतिको आलोचनामा सदुपयोग गरेका छन्।
डा. छेत्री विशेषगरी आख्यान समालोचनामा रमाएको देखिन्छ। अझै कथा विधा उनको प्रिय विधा रहिआएको देखिन्छ। कथाको कथावस्तुको बनोट, बुनोट, विन्यास, सन्दर्भ तथा चरित्रका विभिन्न प्रकार, विधान, चित्रणविधि एवम् आख्यानात्मक शिल्प-संरचना, संकथन, तात्त्विक विमर्श आदिलाई उनले केलाइ-कुलाइ गरी पाठकलाई पस्किदिन्छन्। कृतिभित्रको संसारको विचरण, त्यसभित्रका सम्बद्ध विषयको वर्गीकरण र तिनका आधार, कृतित्वगत प्रवृत्तिको खोजतलास, विविध सन्दर्भ तथा अभिप्राप्तिको आकलन इत्यादि उनका समालोचनागत प्रवृत्तिका रूपमा देखा पर्दछन्। अतः समसामयिक आख्यान (कथाविशेष) विधाको कृतिगत अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु डा छेत्रीको समालोचनात्मक कार्यको मुख्य क्षेत्र हो। यद्यपि उनको समालोचनामा केही मात्रामा प्रभाववादी प्रवृत्ति हुँदा-हुँदै पनि उनले सैद्धान्तिक पद्धतिलाई आधार बनाएका छन्। नेरेटोलजी उनको समालोचनाको मूल आधार हो।
राजकुमार छेत्रीको पहिलो पुस्तक सिर्जनाको समावलोकन (२००९) हो। यसलाई विधापरक समालोचनाको एउटा माइलखुट्टी मान्न सकिन्छ। यसमा कथा विधालाई मात्र विभिन्न कोणबाट अध्ययन समीक्षण गरिएको छ। यसमा सोह्रवटा समालोचनात्मक लेखहरूमा दुईवटा सैद्धान्तिक, यसमा शिवकुमार राईको कथाकारिताबारे दुईवटा भिन्नाभिन्नै विषयमा अध्ययन गरिएको छ भने तथा बाँकी बाह्रजना वरिष्ठ कथाकारहरूको कथाकारिताको सम्यक अध्ययन गरिएको छ। रहेका छन्। यसमा रहेका लेखहरू हुन्- समकालीन भारतीय नेपाली कथाका प्रवृत्तिहरू, समकालीन भारतीय नेपाली कथामा सांस्कृतिक चेतना, रूपनारायण सिंहका कथामा सामाजिकता, शिवकुमार राईका केही कथाहरूको विश्लेषणात्मक अध्ययन, सानु लामाको कथाकारिता-विश्लेषण र मूल्याङ्कन, शरद छेत्रीको कथाकारिता चक्रव्यूह कथा सङ्ग्रहका सन्दर्भमा, शिवकुमार राईका कथामा लोकतात्विक पक्ष, बालकृष्ण समको कथायात्रा एव् उनको कथागत प्रवृत्तिको रेखाङ्कन, हाइमनदास राई किरात-को कथाकारिता, रामलाल अधिकारीका कथाहरूको कथ्य र शिल्प, अर्जुन निरौलाका कथाहरूको वस्तु- विवेचन, इन्द्र सुन्दासको कथागत प्रवृत्ति, राधिका रायाको कथागत प्रवृत्ति, इन्द्रबहादुर राईको कथाकारिता सन्दर्भ विपना कतिपय-का कथाहरू, गुरूप्रसाद मैनालीका कथाहरूको वस्तु विवेचन, देवकोटाका कथामा बालमनोविज्ञान।
उनको दोस्रो समालोचनात्मक कृति अवलोकन अवबोधन– (२०११) मा मिश्रित विधाका नौवटा लेखहरू रहेका छन्। यी लेखहरू हुन्- इन्द्रबहादुर राईको साहित्यलोचन सिद्धान्त, गुमानसिंह चामलिङको समालोचनात्मक प्रवृत्ति, दियालोमा प्रकाशित समालोचनाहरू, शिवकुमार राईका कथामा प्रकृति प्रयोग, डाँफेचरी खण्डकाव्यको वस्तु र शिल्पविधान, बी पी मल्लको हाइकु लेखन, शिवकुमार राईका कथायात्रा विवेचनात्मक अवलोकन, डाकबङ्गलाको औपन्यसिकता वस्तु र शिल्प विन्यास, भारतेली नेपाली कथायात्रा सन्दर्भ र अवलोकन।
उनको तेस्रो कृतिका रूपमा रहेको ‘कृति आलोकन’मा जम्मा एघारवटा समालोचनात्मक लेख सङ्ग्रहित छन्। यीमध्ये छवटा कथाकेन्द्री, तीनवटा कविताकेन्द्री, एउटा समालोचनाकेन्द्री र एउटा चाहिँ नियात्राकेन्द्री समालोचना परेका छन्। उनले डा लक्खीदेवी सुन्दास, बद्रीनारायण प्रधान, कमला राई आँसु, सम्पूर्णा राई, महानन्द पौड्याल र प्रदीप गुरूङका कथाहरूको कथावस्तु योजना, पात्र विधान, शिल्प विधान, सारवस्तु आदिका आधारमा कृतित्वको विवेचनात्मक मूल्याङ्कन गरेका छन्।
उनको चौथो समालोचना सङ्ग्रह दृष्टिपथ (२०१८) मा केही सैद्धान्तिक र प्रायोगिक समालोचना ग्रन्थमा जम्मा दसवटा लेखहरू रहेका छन्। यी हुन्- जयन्तकृष्ण शर्माको काव्यिक भावभूमि, होमबहादुर क्षेत्रीको कवितामा समयचेतनाको पीड़ा, सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मिक चेतनामूलक, निर्गमनको औपन्यासिक वस्तु तथा रूपविन्यासपरक अध्ययन, लीलबहादुर क्षत्रीको कथागत प्रवृत्ति, भारतीय नेपाली कथामा अभिघात सिद्धान्त, नेपालीमा मुक्तक लेखन, भारतीय नेपाली कथामा नवलेखन, नन्द हाङखिमको नाट्यचेतना, नेपालीमा साहित्यिक अन्तर्वार्ताको सैद्धान्तिक तथा प्रवृत्तिपरक अध्ययन।
उनको अक्षरहरूमा संवाद नामक अन्तर्वार्ता सङ्गालो (२०१८) प्रकाशित छ। यसमा बाह्रजना भारतीय नेपाली साहित्य सर्जकहरूलाई समीक्षात्मक अन्तर्वार्ता लिइएको छ। यसमा असीत राई, आइ के सिंह, कृष्णसिंह मोक्तान, गुप्त प्रधान, नन्द हाङ्खिम, नोर्ज्याङ स्याङदेन, प्रदीप गुरूङ, मनप्रसाद सुब्बा, लक्ष्मण श्रीमल, विन्द्या सुब्बा, शरद् छेत्री र समीरण प्रियदर्शी। यसमा यी प्रत्येक लेखकका व्यक्तिगत परिचय, लेखनगत परिचय, लेखनगत प्रवृत्ति र पद्धति आदि केलाएर सिर्जनात्मक प्रश्नहरू तेर्साएका छन्। समीक्षात्मक प्रश्न गराइमा नै उत्तरदाता भित्रको लेखनगत शिल्प, सौन्दर्य र कलात्मकता झल्किएको पाइन्छ। उत्तम कुँवरको स्रष्टा र साहित्यको झैं डा छेत्रीको यस अन्तर्वार्ता सङ्गालोलाई सिर्जनात्मक अन्तर्वार्ता मान्न सकिन्छ।
उनको पछिल्लो प्रकाशित पुस्तक अक्षरका आयाम (२०२३) भूमिका सङ्ग्रहलाई पनि समालोचनाकै कोटिमा राख्न सकिन्छ। यसमा सामान्य पुस्तकीय भूमिका नरही आंशिक रूपमा भए पनि पुस्तकको तात्विक, वस्तु योजना, कृतिगत मूल्याङ्कन, समीक्षण गरिएको छ। यसमा रहेका लेखहरू हुन्- ‘मैतराज राणाको अन्योल वर्तमानसित’, ‘गीतकार कमल रेग्मी र काँड़ाफूल’, ‘उदय थुलुङका कथाहरूको कथ्य र नेपथ्य’, ‘सङ्कल्प-का भीड़भित्रको अनुहारहरू’, ‘कवि मल्लको खण्डप्रलय : एउटा काव्यिक अन्तःद्रोह’, ‘सपनको कृति मेरो कैरन’, ‘पर्यावरण सचेतताको परिदृश्यमा कवि भवजीत तामाङको काव्यकृति’, ‘सुनिलको सिर्जनात्मक शिविर : गुरूदक्षिणा’, ‘सामाजिक आख्यानात्मकता जीवनको नयाँ मोड़’, ‘कविता लेखनमा युवा कवि प्रवीणको हस्ताक्षर’, ‘शारदा छेत्रीका कथामा अनुभूतिको स्वर र समय चेतनाको पीड़ा’, ‘सन्दर्भ : युवा उपन्यासकार कुशल छेत्रीको सूत्रात्मक औपन्यासिक लेखन’, ‘गौरवमय मगरजोङ गरिमामय यात्रा’, ‘कथ्यकथनका सन्दर्भमा नवीनका प्रवीण कथाहरू’, ‘नेपाली समाज-सास्कृतिक सरोकारका जीवन्त कथाहरू’, ‘हट्टाबाहिरको औपन्यासिक सन्दर्भ’।
उनले सम्पादन गरेको र साहित्य अकादमी नयाँ दिल्लीबाट प्रकाशित शिवकुमार राईका रचना सञ्चयन (२०१२) मा पनि शिवकुमार राईको कथाकारितामाथि गम्भीर अध्ययनशील समीक्षा गरेका छन्। यसबाहेक उनले चरित्र-समालोचना विशेषाङ्क (२०१२), समालोचना ग्रन्थ सञ्चयन (२०२३), अक्षरहरूको अभिनन्दन (२०२३), दियालो – स्वर्ण जयन्ती अङ्क (२००९) आदि पुस्तक पत्रिकाहरूको कुशल सम्पादन गरेका छन्।
डा राजकुमार छेत्रीको समालोचनाकारितामाथि केही अध्येताहरूले अध्ययन, समीक्षण र मूल्याङ्कन गरेका छन्। यी लेखकहरू कतै उनकै पुस्तकको भूमिका कतै अन्यत्र प्रकाशित लेखहरू हुन्। त्यसमा डा दिवाकर प्रधान, डा घनश्याम नेपाली, अर्जुन प्रधान, नवीन पौड्याल, डा कृष्णराज घतानी, डा सुजातारानी राई आदिले गहन रूपमा अध्ययन गरेका छन्।
डा. राजकुमार छेत्रीको समालोचनाका क्षेत्र र प्रवृत्तिहरू
राजकुमार छेत्रीले आफ्नो समालोचनामा अध्ययनको क्षेत्रलाई व्यापक बनाएका छन्। उनले सैद्धान्तिक र प्रायोगिक दुवै प्रकारका समालोचनामा कलम चलाएका छन्। उनका समालोचनात्मक लेखनमा साहित्यका विविध विधा, प्रवृत्ति, सर्जक र कृतिहरू अध्ययनका विषय बनेका छन्। उनले धेरैजना सर्जकका कृतिहरूको अध्ययन, समीक्षा र मूल्याङ्कन गरेका छन्। उनको विशेष रुचि आख्यान, विशेषतः कथा विधामा रहेको देखिन्छ। कथाबाहेक उनले उपन्यास, कविता, नाटक तथा समालोचना विधिका कृतिहरूमाथि पनि समीक्षा गरेका छन्। यस दृष्टिले उनको समालोचनात्मक अध्ययनक्षेत्र एकाङ्गी नभई बहुआयामिक र व्यापक रहेको पाइन्छ।
उनी मूलतः सैद्धान्तिक चेतनासम्पन्न समालोचक हुन्। कृतिको अध्ययन र मूल्याङ्कन गर्दा उनी केवल आफ्नो वैयक्तिक रुचि वा प्रभावमा मात्र सीमित रहँदैनन्, बरु आवश्यकतानुसार विभिन्न सैद्धान्तिक आधार र समालोचनात्मक मान्यताहरूको सहारा लिन्छन्। उनको कलम हाइकु लेखन, मुक्तक लेखन, नयाँ लेखन, साहित्यिक अन्तर्वार्ता, भूमिका लेखन तथा नवलेखनका विविध पक्षहरूसम्म पनि पुगेको छ। यसबाट उनको साहित्यिक चासो केवल परम्परागत साहित्यिक विधाको समीक्षामा सीमित नरही समकालीन साहित्यिक गतिविधि र नयाँ सिर्जनात्मक प्रवृत्तितर्फ पनि उन्मुख रहेको स्पष्ट हुन्छ। समकालीन साहित्यका नवीन रूप, शैली र प्रवृत्तिप्रति उनको जिज्ञासु दृष्टि रहेको देखिन्छ।
उनका अन्य समालोचनात्मक लेखहरूमध्ये बी. पी. मल्लको हाइकु–कविता लेखनबारे गरिएको अध्ययन उल्लेखनीय छ। जापानी जीवनदर्शन र हाइकुका मूलभूत सैद्धान्तिक मान्यताका आधारमा उनले बी. पी. मल्लको हाइकु लेखनको अध्ययन गर्दै उनलाई एक सफल हाइकुकारका रूपमा चिनाउने प्रयास गरेका छन्। यस प्रकारको अध्ययनमा कृतिको विधागत संरचना, भावभूमि र अभिव्यक्तिगत वैशिष्ट्यलाई सैद्धान्तिक धरातलमा राखेर हेर्ने उनको प्रवृत्ति देखिन्छ। यहाँ लक्ष्मीप्रसाद देवकोटाको समालोचनात्मक अवधारणालाई पनि उनले केलाउने जमर्को गरेका छन्। देवकोटाका साहित्यिक तथा समालोचनात्मक मान्यतालाई पुनःपाठ गर्ने उनको प्रयासले साहित्यिक परम्पराको अध्ययनप्रति पनि उनको रुचि रहेको बुझिन्छ।
डा. छेत्री पाठककेन्द्री, लेखककेन्द्री र कृतिकेन्द्री तीनै प्रकारका समालोचनात्मक दृष्टिकोण अपनाएर लेख्ने गर्छन्। कुनै कृतिको मूल्याङ्कन गर्दा कहिले सर्जकको जीवन, व्यक्तित्व र वैचारिक पृष्ठभूमिलाई महत्त्व दिन्छन् भने कहिले कृतिको संरचना, विषयवस्तु, भाषा, शैली र कलात्मक पक्षलाई केन्द्रमा राख्छन्। त्यसैगरी, पाठकमा कृतिले उत्पन्न गर्ने प्रभाव र अनुभूतिलाई पनि उनले समालोचनाको महत्त्वपूर्ण आधार बनाउने गरेका छन्। यस अर्थमा उनको समालोचनात्मक दृष्टि एउटै निश्चित ढाँचामा बाँधिएको नभई विषय र कृतिको प्रकृतिअनुसार लचिलो तथा बहुदृष्टिगत रहेको पाइन्छ।
यसका साथै उनी मूलतः कृति पढेर त्यसले आफूमा पारेको प्रभावलाई अभिव्यक्त गर्ने प्रभाववादी समालोचक पनि हुन्। तर उनको प्रभाववाद केवल भावुक प्रतिक्रिया वा व्यक्तिगत रुचिको अभिव्यक्तिमा मात्र सीमित छैन। कृतिले उत्पन्न गरेको प्रभावलाई तर्क, विश्लेषण र सन्दर्भका आधारमा स्पष्ट पार्ने प्रवृत्ति पनि उनको लेखनमा पाइन्छ। यद्यपि उनी कृतिका आन्तरिक पक्षहरू, जस्तै प्रतीक, विम्ब, अर्थसन्दर्भ, भाषिक प्रयोग, संरचना तथा पृष्ठभूमिगत सन्दर्भहरूलाई उधिनेर देखाउने काम गर्दछन्। यसका साथै कृतिबाहिरका सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा अन्य सान्दर्भिक पक्षहरूलाई पनि समालोचनाको दायरामा समेट्ने गर्छन्। यस कारण उनको समालोचनामा कृतिको अन्तर्पाठीय र बहिर्पाठीय दुवै पक्षको अध्ययन गर्ने प्रवृत्ति देखिन्छ।
डा. छेत्री मूलतः प्राज्ञिक चेतनासम्पन्न समालोचक हुन्। उनका लेखहरूमा अध्ययनशीलता, विषयप्रतिको गम्भीरता, सैद्धान्तिक सचेतता र विश्लेषणात्मक दृष्टिकोण पाइन्छ। यसका साथै उनी व्याख्यात्मक, प्रभाववादी, ऐतिहासिक तथा जीवनीमूलक समालोचनामा पनि रुचि देखाउँछन्। आवश्यकतानुसार कृतिको व्याख्या गर्ने, त्यसको प्रभाव प्रस्तुत गर्ने, ऐतिहासिक पृष्ठभूमिसँग जोडेर हेर्ने तथा सर्जकको जीवन र व्यक्तित्वको सन्दर्भबाट कृतिलाई बुझ्ने प्रवृत्ति उनका समालोचनामा पाइन्छ। यस बहुविध समालोचनात्मक दृष्टिका कारण उनका लेखहरूमा विषयअनुसार दृष्टिकोण परिवर्तन गर्ने लचकता देखिन्छ।
डा छेत्रीले समालोचनाका नयाँ–नयाँ सिद्धान्तहरूको अध्ययन र अनुगमन गरी तिनका आधारमा कृति समीक्षा गर्ने गरेका छन्। यसबाट उनी परम्परागत समालोचनात्मक मान्यतामा मात्र सीमित नरही आधुनिक तथा समकालीन सैद्धान्तिक विकासप्रति पनि सचेत रहेको बुझिन्छ। अहिलेसम्म उनको कलमले समालोचनाका सामान्य सिद्धान्तका साथै आख्यानशास्त्रीय, भयवादी, सांस्कृतिक, अभिघात तथा पर्यावरणीय सिद्धान्तका आधारमा पनि कृतिहरूको समीक्षा गरेको पाइन्छ। यसरी फरक–फरक सैद्धान्तिक उपकरणको प्रयोगले उनको समालोचनालाई विविधतापूर्ण बनाएको छ। कृतिको प्रकृति, विषयवस्तु र सन्दर्भअनुसार उपयुक्त सिद्धान्तको प्रयोग गर्ने प्रवृत्ति उनको समालोचनात्मक विशेषताका रूपमा देखिन्छ।
उनको मुख्य रुचिको क्षेत्र कथा विधा रहेको देखिन्छ। कथाको संरचना, कथावस्तु, पात्र, दृष्टिबिन्दु, परिवेश, भाषा र अन्तर्निहित अर्थसन्दर्भजस्ता पक्षप्रति उनको विशेष चासो रहेको पाइन्छ। तथापि उनी कथा विधामै सीमित छैनन्; कविता, उपन्यास र समालोचनाका कृतिहरूलाई पनि उनले अध्ययनको विषय बनाएका छन्। यसबाट उनको समालोचनात्मक व्यक्तित्वको बहुआयामिकता स्पष्ट हुन्छ। उनले विशेषतः दार्जिलिङ क्षेत्रका केही ओझेलमा परेका नयाँ तथा पुराना लेखकहरूलाई पाठकसमक्ष कृतिकारका रूपमा चिनाउने महत्त्वपूर्ण काम पनि गरेका छन्।
यस दृष्टिले डा राजकुमार छेत्रीको समालोचनात्मक योगदानको अर्को उल्लेखनीय पक्ष साहित्यिक इतिहासमा पर्याप्त चर्चा नपाएका वा सीमित पाठकवर्गमा मात्र परिचित सर्जक र कृतिहरूलाई समालोचनाको केन्द्रमा ल्याउनु हो। उनले स्थापित साहित्यकारहरूको मूल्याङ्कनसँगै उपेक्षित र ओझेलमा परेका प्रतिभाहरूको कृतित्वमाथि पनि दृष्टि पुर्याएका छन्। यस्तो प्रवृत्तिले साहित्यिक मूल्याङ्कनको क्षेत्र विस्तार गर्नुका साथै क्षेत्रीय नेपाली साहित्यका विविध स्वर र प्रवृत्तिलाई अभिलेखित तथा स्थापित गर्न सहयोग पुर्याएको छ। यदि नेपाल र अन्य देश वा भारतकै पनि अन्य स्थानका पाठकले नचिनेका तर राम्रा लेखकको पनि परिचयन, मूल्याङ्कन र समीक्षण गरेका छन्।
समग्रमा हेर्दा डा. राजकुमार छेत्रीको समालोचनाका क्षेत्र र प्रवृत्तिहरू व्यापक, बहुआयामिक तथा बहुदृष्टिगत रहेका छन्। उनको समालोचनामा सैद्धान्तिकता र व्यावहारिकता, प्रभाव र विश्लेषण, कृतिकेन्द्रिता र सन्दर्भकेन्द्रिता तथा परम्परा र आधुनिकताबीचको समन्वय देखिन्छ। कथा विधाप्रति विशेष झुकाव हुँदाहुँदै पनि साहित्यका अन्य विधा, नवीन लेखन र विविध समालोचनात्मक सिद्धान्तप्रति उनको सक्रिय रुचि रहेको पाइन्छ। यसरी साहित्यिक कृतिको सूक्ष्म अध्ययन, सैद्धान्तिक आधारमा मूल्याङ्कन तथा ओझेलमा परेका सर्जक र कृतिहरूको पुनर्पहिचान गर्ने कार्यले डा राजकुमार छेत्रीलाई समकालीन नेपाली समालोचनाका एक अध्ययनशील, प्राज्ञिक र बहुआयामिक समालोचकका रूपमा स्थापित गरेको देखिन्छ।
जे होस्, नेपाली समालोचना क्षेत्रमा डा राजकुमार छेत्री एउटा प्रखर नाम बनेका छन्। उनी विशेष गरी कथा विधामा विचरण गरी त्यसका पत्र-पत्र केलाएर पाठकलाई सो कृतिको रसास्वादन गर्न सघाउ पुर्याउँछन्। वास्तवमा समालोचना भन्नु नै कुनै एउटा पाठ वा कृतिबारे पाठकलाई अझै रसास्वादन गराउनु हो। यस दिशामा डा छेत्री निपुण छन्। यस विधाको उन्नतिमा डा छेत्रीको कलम अझै तिख्खर बनोस्, उनीबाट हामीले अझै राम्रा-राम्रा समालोचनात्मक कृति पाइरहौँ, उनीजस्तै अरू पनि जागरूक अध्येता र समालोचकहरू हामीले पाइरहौँ भन्ने कामना छँदैछ।
०००
