त्रिकुटी संयुक्त लघुकथासङग्रहको लोकार्पण कार्यक्रम सम्पन्न !

मुख्य समाचार

२६ बैशाख २०८३, काठमाडौं

शब्दार्थ प्रकाशनको आयोजनामा लघुकथाका त्रय स्रष्टा प्रा. विश्वराज अधिकारी , डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलद्वारा रचिएको त्रिकुटी संयुक्त लघुकथासङग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । लोकार्पण
प्राध्यापक , छन्दकवि पीताम्बर दाहाल , प्रमुख अतिथि भागिरथी श्रेष्ठ , वक्ताहरू डा. दीनबन्धु शर्मा , महेश पौडेल , डा. नवराज खतिवडा , कृतिकारहरू कुसुमाकर गौतम र खेमराज पोखरेललगायत् कार्यक्रम सञ्चालक पौडेन्स बिमुन्स , शान्ता तिम्सिना र एञ्जेल निलुले सामुहिक रुपमा गरेका थिए ।
कार्यक्रममा डा. कुसुमाकर शर्मा गौतमको अविश्रान्त लघुकथासङ्ग्रह उपर विद्यालय स्तरीय समीक्षात्मक टिप्पणीको प्रतिस्पर्धामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने १० जना विद्यार्थीहरूलाई प्रमुख अतिथि कथाकार श्रेष्ठबाट पुरस्कृत गरिएको थियो । डियर वाक स्कुल सिफलका विर्द्यार्थीहरू प्रथम सुविज्ञराज खरेल , द्वितीय अमु शाक्य , तृतीय अनुश्री आचार्य , सान्त्वनमा क्रमश: ७ जना अनुज दवाडी , अग्रज रिजाल , सम्मान सेढाईँ , आकाङ्क्षा खरेल , कृश पोखरेल, कुशल ढुङ्गाना र समीहा नेपाललाई नगद र प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको थियो ।
समीक्षक महेश पौडेलले त्रिकुटी कृतिभित्र रहेको विश्वराज अधिकारीद्वारा लेखिएको २५ वटा लघुकथाहरूको युद्धका विषयमा फरक फरक कोणबाट प्रकाश पारे ।
अर्का समीक्षक डा . दीनबन्धु शर्माले विमोचित कृतिभित्र रहेका खेमराज पोखरेलका २५ वटा लघुकथाहरूको आवृत्ति बारेमा आफ्नो धारणा व्यक्त गरे । समीक्षक डा. नवराज खतिवडाले कृतिभित्र समेटिएका डा. कुसुमाकर शर्मा गौतमको २५ वटा लघुकथाहरूबारे समीक्षात्मक टिप्पणी गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य प्रा.डा. यादवप्रकाश लामिछानेले प्रकट गरेका थिए ।
सर्जकत्रयको प्रतिनिधित्व गर्दै कृतिकार खेमराज पोखरेलले मञ्चासिन व्यक्तित्व लगायत् उपस्थित साहित्यकारहरू , पत्रकारहरु , आफन्तजनहरू , कृतिका भूमिकाकारहरु , साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको आरम्भमा कृतिकार डा. कुसुमाकर शर्मा गौतमले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि भागिरथी श्रेष्ठले लघुकथामा त्रय कृतिकारहरूको लगावमाथि चर्चा गर्दै आफूलाई स्थान र अवसर दिएकोमा खुसी व्यक्त गरिन्।
पौडेल बिमुन्सले कुशलतापूर्वक सञ्चालन गरेको सो कार्यक्रमको अन्त्यमा सभाध्यक्ष दाहालले सभा विसर्जन गर्नु भएको थियो ।

०००