मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न

मुख्य समाचार

२५ बैशाख २०८३, काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिए अनुसार सर्वप्रथम कथाकार हृदयचन्द्र सिंह प्रधानको कथा ‘सौता’ डा पबित्रा अधिकारीले वाचन गरिन् । त्यसपछि अन्य तीन जना प्रतिष्ठित कथाकारहरूले २०७० को दशकका बिभिन्न वर्षमा प्रकाशित आआफ्ना कथाहरू वाचन गरेका थिए ।
कथाकार रमेश जङ्ग थापाले ‘हाम्रा बा हुन्नन्’, कथाकार प्रमोद प्याकुरेलले ‘छ्याक लोह’ र कथाकार इन्दिरा प्रसाईले ‘श्री’ शीर्षकको कथा वाचन गरे ।
कार्यक्रमको शुरुमा परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने पवित्र उद्देश्यले दुई जनाको परिकल्पनामा शुरु गरिएको यो अभियान आज कथाकारहरू र कथाका गम्भीर पाठकहरूबीच लोकप्रिय हुँदै गएकोमा प्रसन्नता व्यक्त गरे । उहाँले यसमा प्रतिष्ठित कथाकारहरू र भरखर कथा प्रकाशन गर्न थालेका नयाँ पुस्ताका प्रतिभावान स्रष्टाहरूलाई पनि मौका दिने गरिएको कुरा स्मरण गराए ।
कार्यक्रममा कथाकारहरूका अतिरिक्त सदा झैं कथाप्रेमीहरूको उपस्थिति थियो । स्रष्टाहरूसँगको अन्तर्कृयामा कथाकार र कथानुरागीहरू शैलेन्द्र साकार, हरिबोल आचार्य, निर्मला ढुंगाना, जेठा बैरागीलगायतले भाग लिनुभएका थिए ।
कार्यक्रमको अन्त्यमा अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले धन्यवाद ज्ञापन गर्दै आजका कथाहरूको सङ्क्षिप्त चर्चा गरेका थिए ।
बिगत महिनाहरूमा झैं उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।

०००