मासिक कथावाचन कार्यक्रमको छब्बीसौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२५ पुस २०८२, काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको सम्पन्न भएको छ ।
सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा दिवंगत स्रष्टा गजेन्द्रबहादुर शाहको कथा ‘बिर्सेको कुरा’ कथाकार समिना खनाल पृथाले वाचन गर्नुभएपछि अन्य चार जना प्रतिष्ठित कथाकारहरूले २०३० देखि २०७० को दशकमा प्रकाशित आआफ्ना कथा वाचन गरेका थिए ।
कथाकार राजवले २०३३ सालमा प्रकाशित कथा ‘हाफ क्याबि’, कथाकार सीता पाण्डेले २०५६ सालमा प्रकाशित कथा ‘सिँडी’, कथाकार दीपक लोहनीले २०६७ सालमा प्रकाशित कथा ‘मनकी मैजु’ तथा कथाकार रुकु कार्कीले २०६९ सालमा प्रकाशित कथा ‘जीवनको मोडमा’ वाचन गरे ।
कथाकारहरु राजव र सीता पाण्डेले वाचन गरेका कथाहरुबारे प्रा डा भरतकुमार भट्टराईले तथा कथाकारहरु दीपक लोहनी र रुकु कार्कीद्वारा वाचित कथाहरुबारे साहित्यकार पबित्रा अधिकारीले समीक्षा गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा आयोजकहरुका तर्फबाट अतिथिहरुको स्वागत गर्दै प्रतिष्ठित कथाकार एवं साहित्यिक अभियन्ता इन्दिरा प्रसाईले यो कार्यक्रममा कुनै एक दिवंगत स्रष्टाको प्रकाशित कथा वाचन गरेपछि मात्र अन्य कथाकारले कथा सुनाउने चलन आफूलाई अत्यन्त राम्रो लागेकाले ती अन्यत्र कहीँ सुन्न नपाइने असी–नब्बे वर्ष पुराना कथाहरुको लोभले तानिएर नै सकेसम्म नछुटाई आउने गरेको बताइन् । उनले दीर्घकालसम्म प्रभाव पार्ने यस्तो सोचका लागि परिकल्पनाकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको जति प्रशंसा गरे पनि नपुग्ने बताइन् ।
अभियानका परिकल्पनाकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दै यस अभियानको आवश्यकताबारे प्रकाश पारे । उनले बिभिन्न कालखण्डका कथाकारहरूलाई एकै स्थानमा राखेर फरकफरक दशकमा लेखिएका कथा स्रष्टाकै मुखबाट वाचन गराउने गरिएकाले कार्यक्रमलाई अहिलेसम्म प्राप्त सफलतामा खुशी व्यक्त गरे ।
सो कार्यक्रम उपन्यासकार शुकदेव उपाध्यायले आकर्षक ढङ्गमा संचालन गरेका थिए ।

०००