१७ पुस २०८२, काठमाडौं
सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ स्थापना दिवस २०८२ को अवसरमा वितरण गर्ने विभिन्न पुरस्कार तथा अभिनन्दनको घोषणा गरेको छ ।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुबेदीलाई अभिनन्दन गर्ने घोषणा गरिएको छ। नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने प्राध्यापक डाक्टर सुबेदी समालोचक, भाषाविद्, नाटककार, अनुवादक कवि तथा सम्पादक हुन् ।
प्रतिष्ठानले जनाए अनुसार गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार (रु.पच्चिस हजार), चर्चित साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई, सुरभि – बाजुराम आख्यान साधना पुरस्कार (रु.पच्चिस हजार) कथाकार एवम् बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई, सुरभि-विजय वाङ्मय पुरस्कार (रु.५१ हजार) साहित्यकार एवम् समालोचक ठाकुर शर्मा भण्डारीलाई तथा सुरभि – रमाबद्री निबन्ध पुरस्कार (रु.पच्चिस हजार) निबन्धकार एवम् सम्पादक रामप्रसाद पन्तलाई अर्पण गरिने छ।
संयोजक युवराज मैनाली सहित अच्युत घिमिरे र आलोक चालिसे रहेको तीन सदस्सीय पुरस्कार चयन समितिको सिफारिसमा यो निर्णय गरिएको हो ।
साथै आगामी वर्ष २०८३ देखि प्रदान गर्ने गरी मोतीराम भट्ट, रामकृष्ण शर्मा, सूर्यविक्रम ज्ञवाली, यदुनाथ खनाल, हृदयचन्द्र सिंह प्रधान, कृष्णचन्द्र सिंह प्रधान जस्ता कीर्तिशेष विशिष्ट समालोचकहरूको नाममा सुरभि समालोचना पुरस्कार स्थापना गरिने भएको छ । उक्त प्रयोजनकालागी समाजसेवी वसन्त रिजाल र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलबाट २ लाख २५ हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गरिएको छ । रु.पच्चिस हजार राशिको उक्त पुरस्कार हरेक वर्ष फरक फरक समालोचकको नाममा समर्पण गरिने तथा घोषित सम्मान र पुरस्कारहरू आगामी माघ १७ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वितरण गर्ने समेत प्रतिष्ठानले जनाएको छ ।
