८ नोभेम्वर २०२५, ह्यारिसवर्ग, अमेरिका
साहित्य परिषद भुटान स्थापनाको ३३ औं वर्षमा ११औं सम्मेलन ह्यारिसवर्ग, पेन्सिलभेनिया, अमेरिकामा सम्पन्न भएको छ ।
सन् १९९३ मा नेपाली भाषा परिषद भुटानको नाममा स्थापित यस संस्थाको नाम समयको क्रममा बदलिंदै गएर हाल साहित्य परिषद भुटान रहेको छ र हाल संस्थापक अध्यक्ष गंगाराम लामिछाने नै अध्यक्षको रुपमा रहेका छन् तथा सम्मेलन उनकै अध्यक्षतामा सम्पन्न भएको छ ।
सम्मेलनमा विविध पत्रहरूको प्रस्तुति, साहित्य परिषद भुटानको अवधारणाको प्रस्तुति, साँस्कृतिक कार्यक्रम, कविता वाचन तथा पुरस्कार तथा सम्मान अर्पणका कार्यक्रमहरू रहेका थिए ।
शुरूमा परिषदका बोर्ड अफ डाइरेक्टर तथा लेखिका तीला अधिकारी आचार्यले स्वागत भाषण गरेकी थिइन् ।
कार्यक्रममा गीत संगीत क्षेत्रका प्रतिभाहरू गोविन्द हुमागाईं, अमर तुम्बापो, र छबि न्यौपानेलाई जनही पाँच सय डलरको सुकरा स्मृति पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारको प्रायोजन मनोज राइले गरेका थिए ।
सो अवसरमा अनेसास वोर्ड अफ ट्रष्टिका अध्यक्ष पदम विश्वकर्मा, आइत सिं राई, विश्वनाथ क्षेत्री, रत्न गुरुङ्ग, अमल थुलुङ, छत्रपति फुँयाल तथा रमेश दियालीलाई सम्मान अर्पण गरिएको थियो ।
“सन्चमान ज्यो ज्यो” कथा कृतिका लेखक कृष्ण सुब्बा मुना स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । पुरस्कारको राशी एक हजार पाँच सय डलर रहेको थियो र पुरस्कारको सौजन्यता भक्त घिमिरेले गरेका थिए ।
सो अवसरमा कुवेर कुईंकेलको कविता सङ्ग्रह “अन्त्यको शुरू” विमोचन गरिएको थियो र विमोचित कृतिबारे शिवलाल दाहालले मन्तब्य प्रकट गरेका थिए । साथै कृतिकारले आफ्नो धारणा राख्नुका साथै कविताँश प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थाका अध्यक्ष लामिटारेले साहित्य परिषद भुटानको चिनारी र स्थापनाकालदेखि हालसम्मका गतिबिधि, चुनौति र संस्थाले गरेका कामहरूको चर्चा गरे ।
सम्मेलनमा क्यानाडा च्यापटरका निर्देशक खगेन्द्र गौतम र कृष अधिकारीले संयुक्त रुपमा पुनर्वासपछिको नेपाली साहित्यको बिषयमा डिजिटल रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा आर.पि. सुव्वाले सेरापी कलेजका दिनको सम्झना गर्दै समकालीन भोटे साथीहरूले दुर्गा पुजाको मूर्ति सेलाउन जाँदा कसरी धनुकाँडले हानी आक्रमण गरेका थिए, सो घटनाको सम्झना सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले आफ्नो सम्बोधनमा नेपाली भाषा साहित्यको लागि परिषदले गरेको कामको सह्राहना गरे ।
सम्मेलनमा शिवलाल दाहालले नेपाली भाषा विरासत दिवस-एक अवधारणा शिर्षक कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा राम गीता मन्दिरका संस्थापक गीता खत्री तथा राम खत्रीले कवि, गीतकार खेम रिजाललाई सामाजिक अभियन्ता तथा साहित्यमा योगदान पु-याइबापत नेरू ५० हजार सहित कदरपत्र प्रदान गरे ।
साहित्यकार गोविन्द गिरी प्रेरणाले सम्मेलन पत्र पढेर परिषदले नेपाली भाषा साहित्यको विस्तारका लागि गरेको कामको चर्चा गरे । अनेसास विओटीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ राज पाण्डेले नेपाली भाषाको उद्गमको चर्चा गरे ।
कार्यक्रमको शुरूमा मनोज राइले परिषदको थिम गीत प्रस्तुत गरेका थिए ।
भोला सिवाकोटीले सो सम्मेलनमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
कविवर माधव घिमिरे रचित “लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो” गीतमा यनेश खतिवडा, अदिति कुईंकेल, आदित्य कुईंकेल, आर्या गुरुङ, सुयोग शर्मा रिशिक शर्मा, आरोन तामाङ, ईलिजा वालमपाकी, आओ थापा, रेनेश कार्की, दृशिका गुरुङ, प्रनिश कार्कीले नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी “देउरालीमा वरपीपल” गीतमा दिव्य घिमिरे, दीपशिखा घिमिरे, घरिष्मा तिम्सिना, आयुशा चापागाईंले नृत्य प्रस्तुत गरेका थिए ।
सम्मेलनमा बसुधा रिजाल, सुधा खतिवडा, ईन्दु चुहान र सविना भट्टराईले संयुक्त रुपमा सस्वर शार्दुल विक्रिडित छन्दको कविता गाएर सुनाएका थिए ।
कार्यक्रममा कविता वाचन र गजल प्रस्तुति पनि एक आकर्षण रहेको थियो । कवि कवयित्री तथा गजलकारहरू गण्डकी पुत्र, लीला निशा, भागी फुयाल, देविका वराल, तुम्बेहाङ लिम्वु, द्रौपदी प्रधान, पदम विश्वकर्मा, दीपेश चापागाईं, भरत तिम्सिना, रश्मी भट्ट लगायतले रचना वाचन तथा प्रस्तुति दिएका थिए ।
धन्यवाद ज्ञापन भक्त घिमिरेले प्रस्तुत गरेका थिए ।
सभालाई विसर्जन सम्बोधन परिषदका अध्यक्ष गंगाराम लामिछानेले गरेका थिए ।
दुई सत्रमा सञ्चालित सो कार्यक्रको सञ्चालन परिषदका सचिव कवि, गीतकार खेम रिजालले गरेका थिए ।
०००
