सपना आचार्यको “उनले छोडेको उज्यालो“ सार्वजनिक

मुख्य समाचार

७ पुस २०८२, वुटवल

साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक “उनले छोडेको उज्यालो” लेखिकाको आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर विमोचन गरिएको छ। बुटवलमा आयोजित कार्यक्रममा कृतिको विमोचन लेखिकाका पिता कृष्णलाल आचार्यको हातबाट सम्पन्न भएको थियो ।

बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर भावनात्मक र अर्थपूर्ण ढंगले पुस्तक सार्वजनिक गरिएको थियो ।

सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित उपन्यासपछि “ उनले छोडेको उज्यालो” मार्फत आचार्यले झन् व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन्।

“उनले छोडेको उज्यालो” मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो। कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडालाई मात्र होइन, आमाछोरीबीचको सम्बन्ध, मातृत्वको गहिरो प्रभाव र जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक तर संयमित भाषामा प्रस्तुत गरिएको छ।

मानव सेवा आश्रमका वृद्ध आमाबुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गर्नु स्वयं कृतिको भावभूमिसँग मेल खाने सांकेतिक कार्य हो।

यसले “उनले छोडेको उज्यालो” केवल साहित्यिक कृति मात्र नभई, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सन्देश बोकेको देखिन्छ ।

सपना आचार्य हाल संयुक्त राज्य अमेरिका, लस एन्जलस (क्यालिफोर्निया) मा बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय छन्।