९ बैशाख २०८२, काठमाडौं
दिवंगत कवि, निबन्धकार, पत्रकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको ‘हाय राजमती’ नामक सांस्कृतिक निबन्धहरुको संग्रह बजारमा आएको छ । यस सङ्ग्रहमा रहेका २४ निबन्धहरू जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा बिभाजित छन् । यस पुस्तकको सम्पादन साहित्यकार गोविन्द गिरी प्रेरणाले गरेका हुन् ।
प्रकाशनको क्षेत्रमा आक्रामक ढङ्गले आइरहेको इम्प्रिन्ट पब्लिसर्सले दिबङ्गत निबन्धकार सुरेश किरणको ४५औं पुण्य तिथिका दिन यो पुस्तक निबन्धकारको परिवारजनमा हस्तान्तरण गरी बजारमा ल्याएको हो ।
सङ्ग्रहमा मूलतः नेवार जातिको सभ्यता, संस्कृति, चालचलनका साथै काठमाडौं, भक्तपुर र ललितपुरसँग सम्बन्धित जात्रापर्वहरुको ऐतिहासिक महत्व र सम्बन्धलाई तथ्यपरक ढंगले प्रस्तुत गरिएको छ ।
सम्पादकीय भूमिकामा कृतिका सम्पादकले लेखेका छन्, “सुरेश किरणले नेपाली भाषामा लामो समय कान्तिपुर, कान्तिपुर प्रकाशनको नेपाल, नागरिक, रातोपाटी डटकम लगायतका बिभिन्न मिडियाहरूमा निरन्तर लेख्ने गरेका थिए बिभिन्न कालखण्डमा । उनले गद्यमा समसामयियक ब्यङ्ग्य, समसामयिक राजनैतिक विचार, संस्कृति सम्बन्धी लेखहरू निरन्तर लेखिरहेका थिए । ती लेख निबन्धहरूमध्ये विशेष गरी साँस्कृतिक निबन्धहरुको सङ्कलन सम्पादन गरी उनलाई श्रध्दाञ्जली स्वरूप यो कृति तयार गरेको हुँ । नेवारी संस्कृति झल्कने उनको “हाय राजमती” शिर्षक नै उपयुक्त होला भन्ने मेरो ठहर रह्यो । साङ्केतिक रूपमा पुस्तकको शिर्षकले यो कृति सँस्कृतिमूलक हो भन्ने पाठकहरूले अनुमान सहजै गर्न सक्छन् ।”
स्मरणीय छन निबन्धकार किरणको २५ फागुन २०८२ मा हृदयाघात भै निधन भएको थियो ।
