१३ मङ्सिर २०२५, वालिङ, स्याङ्जा
उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा आयोजना गरिएको औपन्यासिक कृति विमर्श एवम सिर्जना वाचन समारोह पहिलो चरणमा “विविशारा” औपन्यासिक कृतिमाथि केन्द्रित रहेर वक्ताद्वय लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । त्यसपछि उपन्यासकार छवि वैरागी घिमिरेले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए ।
हालको टेम्केमयुँ गाउँपालिका- ६, भोजपुरमा जन्मिएका सशक्त छन्दकवि एवम आख्यानकार छवि वैरागी घिमिरे हाल सुन्दरहरैँचा नगरपालिका- ९, विराटचोक, मोरङमा रहेर सिर्जना कर्ममा क्रियाशील छन् । संस्कृतमा आचार्यसम्मको औपचारिक अध्ययन पूरा गरेका छवि वैरागी घिमिरेको “विविशारा” दोस्रो औपन्यासिक कृति हो । रेडियो सन्चारकर्मीका रूपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेका छन् । साधकका रूपमा समेत परिचित उनका दर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन् । उनी स्थानीयदेखि लिएर राष्ट्रियस्तरका विभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।
संसारमा अलौकिक प्रेम अझै मरेको छैन, विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुशीको जीवन पनि छ भन्ने विषयलाई “विविशारा” उपन्यासले मूल कथ्य बनाएको छ ।
अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए । समारोहमा स्वागत मन्तव्य अभियानका संस्थापक अभियन्ता युवा कवि युवराज सुवेदीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा स्याङ्जाली स्रष्टाहरु विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैह्रे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर के.सी., लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियो ।
०००
