९ मंसिर २०८२, काठमाडौँ
नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसन, नेपालको संयुक्त आयोजनामा जेन दर्शन र नेपाली साहित्य विषयक एकदिने विचार गोष्ठी सम्पन्न भएको छ ।
जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईको अध्यक्षता तथा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा समालोचक महेश पौड्यालले ‘जेन दर्शन र नेपाली कविता : आदिम सम्बन्ध र पुनर्जागरणको प्रश्न’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक कुमारी लामाले जेन नेपाली दर्शन भएको कुरामा आफू पनि सहमत भएको बताइन्। यद्यपि उनले नेपालमा कविता मात्र होइन, अन्य विधामा पनि जेनको प्रभाव लामो समयदेखि परेको हुन सक्ने भन्दै अनुसन्धानलाई त्यसतर्फ पनि केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याइन्।
अर्का टिप्पणीकार प्राध्यापक डाक्टर जीवलाल सापकोटाले थप दृष्टान्तहरूबाट जेनको सैद्धान्तिक पृष्ठभूमि, र साहित्यमा त्यसको प्रभावलाई अझ तर्कसङ्गत बनाउन सकिने विचार राखे ।
प्रमुख अतिथि कुलपति राईले जेनजस्ता मौलिक नेपाली दर्शनको अनुसन्धान र प्रवर्धनका लागि प्रतिष्ठान सदैव तत्पर रहेको बताए।
प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले पनि यस्ता मौलिक दर्शनमाथि गोष्ठी गर्न पाउँदा प्रतिष्ठान हर्षित भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष तथा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईँले आफू कोरियामा रहँदा ताका को ऊनलगायत त्यहाँका प्रकाण्ड जेन मास्टरहरूको सङ्गतका कारण जेनतिर आकर्षित भएको बताए । उनले आफूलाई जेन उन्मुख बनाउन अुवादक तथा प्राध्यापक ब्रदर एन्थोनीले पनि प्रेरित गरेको बताए ।
सोही कार्यक्रममा जरा फान्डेसनले विशेष आवश्यकताको स्थितिमा रहेका नेपाली नागरिकका लाई रू ५० हजार राशिको ‘जरा जीवन संधान सहयोग’प्रदान गरिने घोषणा गरियो। यसरी नै कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने वा अदम्य साहसद्वारा मानवताका हितमा काम गर्ने व्यक्तित्वलाई रू १ लाख राशिको ‘जरा विशिष्ट प्रतिभा अन्तर्राष्ट्रिय पुरस्कार’, तथा दीर्घकालसम्म कला, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुऱ्याउने मुर्धन्य प्रतिभालाई १ लाख ५० हजार रूपैयाको ‘जरा दीर्घ साधना अन्तर्राष्ट्रिय अलंकार’ प्रत्येक वर्ष मंसिरमा पर्ने जरा फाउन्डेसनको स्थापना दिवसको अवसर पारेर प्रदान गरिने समेत घोषणा गरियो।
स्मरणीय छ, गत वर्ष अर्घाखाँचीका ६३ वर्षीय ११ केजी तौल भएका कृष्णप्रसाद पौडेलज्यूलाई जरा फाउन्डेसनकै सक्रियतामा नेपाल सरकारसित समन्वय गरी रू दस लाख जीवन वृत्तिका लागि सहयोगस्वरूप प्रदान गरिएको थियो।
कार्यक्रमा कवि प्रज्ज्वल अधिकारीले जरा फाउन्डेसनको परिचय तथा कार्यविवरण प्रस्तुत गरेका थिए भने कवि असीम सागरले एउटा जेन कविता वाचन गरेका थिए। कार्यक्रमलाई कवि सिर्जना शर्माले सञ्चालन गरेकी थिइन् ।
०००
