मृत्योत्सवको फूल

कविता

सामना पहाड, चितवन

बोकेर प्रतिज्ञा र आत्मविश्वासका सर्जामहरू
बढ्छन् जीवन यात्रा पथमा तिनिहरु
ताकेर गन्तव्यको चुली

बनेर हनुमान ल्याइदिन्छन्
कयौँ पटक
प्रतिरोधको पहाडमा
अल्झेको मेरो मन

खुवाइदिन्छन् प्रेमोखती
लगाइदिन्छन् प्रेमको मलम
परिस्थितिले उकुच पारेका घाउहरूमा

छुपाइदिन्छन् विगतका तिक्त दृश्यहरू
बनेर विस्मृतिको सुन्दर पर्दा
सँगालिदिन्छन् सुखद स्मृतिपत्रहरू
बनेर समयको प्रेमिल एल्बम

उघारिदिन्छन् आशाको साँचोले
कठिन सँघारहरू
सजाइदिन्छन् सपनाका इन्द्रेणीहरू
विपनाका रङ्गीन मञ्चमा

बनिदिन्छन् हरियाली बगैँचा
समयका उजाड बस्तीमा
सुमधुर धुन बनिरहन्छन्
हरेक उदास पलहरूमा

लाग्छन् सिर्फ तिनै मात्र हुन्
भरोसाका दरिलो खम्बाहरु
मक्कीइ जाने कयौँ सम्बन्धका विच

बनिदिन्छन् विवेक र विचारयुक्त आँखा
जीवनको परीक्षाको घडीमा
हुन्छन न्यायको निष्पक्ष तराजु
समयका निर्मम कठघारामा

लाग्छ च्यातिनै लागेको
जीवनखाता बचाउने यिनै हुन्
नहुँदा हुन् त यी बचेराहरु
अपुरो हुने थियो जीवनको गुँड
विना आधारको ज्यामितीय आकारजस्तो
पानी विनाको नदी जस्तो
वायु विनाको वायुमण्डल जस्तो

खै कसरी मानौँ ?
तिनै बचेराहरुलाई पृथ्वीका भार
समय अमूल्य रहेछ
जानेको छु तिनैसँग
जीवन रङ्गीन उत्सव रहेछ
सिकेको छु तिनैसँग

प्रसव पीडाको शैयामा मैले हाँसीहाँसी
सन्तानका जीवनोत्सवको फूल खसालेँ
पारिवारिक फूलवारीमा सुखदुःख
मलजल र पालनपोषण गरीरहेँ

सप्रेम हात र साथ दिइरहन सकुन
जीवन उत्तरार्धको यात्रा पथमा यिनले
ससम्मान मृत्योत्सवको फूल खसाल्न सकुन
जीवन रुपान्तरण/मृत्यु उत्सव पथमा यिनले

०००

 

000

कवि परिचयः सामना पहाड सुमन सिलवालको साहित्यिक नाम हो । बिहादी गाउँ पालिका पर्वत जिल्लामा जन्मेकी उनी हाल भरतपुरमा गर्छिन् । उनको प्रथम प्रकाशित रचना “नारीको पिडा ” विसं २०५८ मा चितवन पोष्ट दैनिकमा प्रकाशित भएको थियो । उनको “पर्खालभित्रको घाम”(२०७२) कविता सङ्ग्रह प्रकाशित छ ।