डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
हिमाल, पहाड र तराईका रङ्गेली फाँटहरू ।
चम्कन्छन् हरदिन किसानका सुनौला हातहरू ।।
बैँसले लहलह सयौँ मकैका स्वादिला जातहरू ।
हुन्छन् खुसी पहेंलपुर जमराले अनाथ नाथहरू ।।
नाच्छन् हावाले बिहानी झुल्कोमा सल्बल पातहरू ।
हर्षातिरेक भई रमाउँछन् प्रचण्ड सन्तापहरू ।।
बन्छिन् रजश्वला खुसीले कन्याकुमारी सुत्लाहरू ।
निस्केर यौवनका रसिला चिल्ला चिचिला भुत्लाहरू ।।
हुर्केर लर्कन्छ बैँसले लोभिला ती चुल्ठा लरर ।
झर्छन् गर्भको लागि गाँसिन मर्दानाहरू सरर ।।
खुसीमा जब पुट्पुटिन्छ गर्भमा रित्तिएको हत्तर ।
नाच्छन् फन्फनी फुर्केर ती मानव र मानवेत्तर ।।
जन्मिन्छन् कोटीकोटी रङबिरङका सन्तती लहर ।
रमझम चल्छ घरको पिँढीमा बसी लावालस्कर ।।
बनाइन्छ मकैको भात, रोटी, ढिँडो, फाँडो र भुटन ।
केक, बिस्कुट, ग्लुकोज, दाना, चारा र बायोइन्धन ।।
घुम्छन् मकै प्राणवायु जगाउन गाउँ र सहर ।
अनि बज्छन् सारङ्गीहरू खोक्रो पेटका घरघर ।।
गर्वले जान्छन् कमाउन यत्रतत्र रुपियाँ डलर ।
गाउँछु गीत पौरखी हातको पुकार्दै रहुन् अमर ।।
000
कवि परिचयः डा. हरिकुमार श्रेष्ठको जन्म पालुङ्टार नगरपालिका—६ मा भएको हो र हाल उनी नागार्जुन–१०, काठाडौँमा बस्छन् । उनले सयौँ फूटकर कविता, गजल र नियात्रासम्बन्धी लेखहरू प्रकाशन गरेका छन् भने उनका प्रकाशित कृतिहरुमा एक कविता सङ्ग्रह “फर्मोसाबाट नेपाली सुस्केरा” र दुई गजलसङ्ग्रहहरू “आँकुरा” र “तरङ्ग” गरी तीनवटा किताबहरू प्रकाशित छन् ।
