जयदेव गौतमको “किताबको अँगालोमा” विमोचित

समाचार

१३ असार २०८२, काठमाडौं

साहित्यकार तथा पत्रकार जयदेव गौतमका समीक्षाहरू सङ्ग्रहित पुस्तक ‘किताबको अँगालोमा’ एक समारोह बीच कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई तथा मञ्चासिन अतिथिहरूले सामुहिक रूपमा लोकार्पण गरे ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले कृतिकार गौतमले समीक्षा गर्दा कृतिका कमजोरीहरू समेत निश्पक्ष ढंगले उठाएको बताए। साथै उनले गौतमको साहित्यिक सक्रियताको प्रशंसा गर्दै पुस्तकमा शुद्ध नेपाली भाषा प्रयोग गरिएकोमा खुसी व्यक्त गरे ।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. गीता त्रिपाठीले लेखकको जाँगर यस कृतिले देखाएको बताइन् तथा उनले लेखकले पुस्तकमा अनुसन्धानमूखी समीक्षा गरेको उल्लेख गर्दै कृतिहरूको राम्रो चिरफार गरेको बताइन् ।
अर्का समीक्षक प्रमोद प्रधानले लेखक गौतमसँग आफ्नो सम्बन्ध विगत ४० वर्षदेखि रहँदै आएको बताउँदै उनले खुलेर तर खरो समीक्षा गरेको चर्चा गरे ।
सो अवसरमा लेखक जयदेव गौतमले पठाएको लिखित मन्तव्य विजय थापाले वाचन गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले गौतम शारीरिक रूपमा बिरामी भए पनि लेखनका हिसाबले कहिल्यै बिरामी नभएको भावना व्यक्त गरे ।
समारोहमा स्वागत मन्तव्य शंकर भारतीले राखेका थिए तथा कार्यक्रम सञ्चालन नेपाल स्रष्टा समाजका सचिव प्रकाश घायलले गरेका थिए।
यस कृतिमा ४२ वटा समीक्षा आलेख समेटिएका छन् ।