डेलचन्द्र शर्माको ‘माटो र म’ लोकार्पित

समाचार

११ बैशाख २०८३, काठमाडौं।

साहित्यकार डेलचन्द्र शर्माको ‘माटो र म’ कविता तथा निबन्ध कृतिको साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा लोकार्पण सम्पन्न भएको छ।
लोकार्पित कृति ‘माटो र म’ माथि सरु पोखरेल तथा चन्द्रमणि गौतमले संक्षेपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कवितामा देश प्रेम, पारिवारिक सम्बन्ध र जनजीवनका कुराहरू रहेको बताए।
कार्यक्रममा प्रा. पुरुषोत्तम दाहाल, विष्णु न्यौपाने तथा सूर्य कोइरालाले शुभकामना मन्तव्य राख्दै बधाई दिएका थिए।
कवि डेलचन्द्र शर्माले लेखकीय मन्तव्य राख्दै पुस्तक प्रकाशन र लोकार्पणका लागि सहयोग पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गर्दै एउटा कविता वाचन गरेर सुनाएका थिए।
कवि डेलचन्द्र शर्मा हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। शर्माको यो पहिलो कृति हो।
कार्यक्रममा कवि डेलचन्द्र शर्मालाई सम्मान पनि गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संघले हालसम्म गरिआएका कार्यक्रमहरूबारे संक्षेपमा प्रकाश पारेका थिए। कवि डेलचन्द्रलाई बधाई दिँदै उनले बाहिर बसेर पनि देशप्रति सकारात्मक सोच राख्न सकिंदोरहेछ भन्ने ज्वलन्त उदाहरण ‘माटो र म’ भएको बताए।
मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुषालले कवि डेलचन्द्र शर्मालाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबै साहित्यकार तथा साहित्यप्रेमीहरूलाई धन्यवाद दिएका थिए।
गीता अधिकारीले स्वागत मन्तव्य
सो कार्यक्रमको सञ्चालन सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ ले गरेका थिए। कार्यक्रम सञ्चालनका क्रममा उनले कृति भित्रबाट केही कविताका अंश वाचन गरेर सुनाएका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)