१० असार, २०८२, काठमाडौं ।
कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को पहिलो निबन्ध कृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, अतिथिहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले सामुहिक लोकार्पण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङ्गलाई पठनीय निबन्धका रूपमा यस निबन्ध सङ्ग्रहमा प्रस्तुत गरिएको बताए । उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रस पूर्ण पुस्तक भएको उल्लेख गरे ।
प्रा.डा. हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्ध कृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताए । यस कृतिमा वैचारिक शक्तिसहित सूक्तिमयता प्रशस्त रहेको चर्चा गरे ।
प्रा.डा.लक्ष्मणप्रसाद गौतमले यस कृतिका निबन्धहरूले आफूलाई चिन्न मद्दत पुर्याउने बताए । निबन्धकार मोमिलाले दर्शनको गहिराइसॅँगै निबन्धकलाको पनि सुन्दर संयोजन रहेको यस्ता कृतिहरू मानसाग्निबाट अझ सुन्दर ढङ्गले पाठक माझ आइरहनु पर्नेमा जोड दिइन् । प्रा.डा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राखे ।
कृतिकार मानसाग्निले कविता बाहेक अरू लेख्दिन भन्दा भन्दै पनि निबन्धकार मोमिलाको प्रेरणाले यो कृति आएको बताए ।
कार्यक्रम स्रष्टा एवम् समालोचक महेश पौड्याल उद्घोषण गरेका थिए ।
