२८ फागुन २०८१, काठमाडौं
साहित्यिक पत्रकार संघले एक कार्यक्रमका वीच “आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१” को पुरस्कार अर्पण कार्यक्रमको आयोजना ग-यो ।
प्रतियोगिता”मा प्रथम “म नेपाली, मेरो नेपाल” निबन्धका लागि दिपन अधिकारीले नगद ३०,०००/-,दोस्रो “आँखाअघि देशको चित्र” निबन्धका लागि विपिन ढकालले नगद २०,०००/- तथा तेस्रो “एक अँजुली माया देशको लागि” निबन्धका लागि नीराजन ढकाल नगद १०,०००/-नगद प्राप्त गरे । प्रतियोगितामा थप उत्कृष्ट सात निबन्धकारहरु सुनिता अधिकारी (देशप्रेम : कर्म, चेतना र उत्तरदायित्व), प्रकाश नेपाली (देशप्रेम), खिना सारु (राष्ट्रको समृद्धि शब्दमा होइन कर्ममा) र सुशील पौडेल (आहा ! मेरो देश नेपाल)ले समेत नगद प्राप्त गरे ।
समारोहलाई सम्वोधन गर्दै निबन्ध चयन समितिका संयोजक प्रमोद प्रधानले नयाँ पुस्ताका लेखकहरूमा देशप्रेम भनेको भावना मात्र होइन, कर्म हो भन्ने बुझाइ महत्त्वपूर्ण भएको बताए ।
सोही समारोहमा अमेरिकालाई कर्मभूमि बनाएका र हाल नेपाल भ्रमणमा रहेका अनेसासका संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदीलाई अभिनन्दन पत्र प्रदान गरिएको थियो । अभिनन्दन प्रदानका लागि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कलाकार मदनदास श्रेष्ठ, हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक, समाजसेवी शोभित उप्रेती, सापस पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू पद्मावती सिंह, हिरण्यकुमारी पाठक, प्रदीप बमजन लगायत सरिक भएका थिए ।
साथै अमेरिकालाई नै कर्मभूमि बनाएकी पुनम काफ्लेलाई पनि यसअघि घोषित लोकप्रिया पुरस्कार हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि एवं अभिनन्दित प्रतिभा होमनाथ सुवेदी, राधेश्याम लेकाली, हेम पाठक, पुरस्कारदाता सपना राउत, वरिष्ठ समालोचकहरू प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की , डा. शान्तिमाया गिरि, निबन्धकार दिपन अधिकारी, आरुस बस्याल लगायतले आआफ्नो मतव्य राखेका थिए ।
सो कार्यक्रम कवि मुरारी सिग्देलले सञ्चालन गरेका थिए ।
