गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’प्रदान गरिने

मुख्य समाचार

२७ फागुन २०८२, काठमाडौं

नेपाल स्रष्टा समाजले गत वर्षदेखि प्रदान गर्दै आएको ‘परशु–कल्पना स्रष्टा सम्मान’ २०८२ का लागि वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गर्ने घोषणा गरेको छ ।
स्रष्टा खरेलले गीत सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याए बापत एक लाख १११ रुपैयाँ नगद राशिसहितको उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ ।
६ दशक बढी समयदेखि निरन्तर गीति लेखनमा साधनारत तथा सकृय गीतकार हुन् किरण खरेल । उनका सयौं गीत कालजयी छन् । नेपाली सिनेमाको सुरुवातको “माइतीघर” देखि अहिलेसम्मका चलचित्रका लागि उनले गीत लेखेका छन् ।
‘के हो तिम्रो नाउँ ?’, ‘मेरी परु’, ‘मेरी प्रियतमा’, ‘ए दूरका सितारा’ उनका प्रकाशित गीति सङ्ग्रहका पुस्तकहरू हुन् ।
नेपाली आख्यान जगतका शिखर ब्यक्तित्व परशु प्रधानको देहान्तपछि स्व. परशु प्रधान र उनकी पत्नी कल्पना प्रधानको नाममा उनका सन्तानहरूले स्थापना गरेको यो पुरस्कार गत बर्ष बि.सं. २०८१ देखि प्रदान गर्न थालिएको हो । गत बर्ष यो पुरस्कार गणेश रसिक र ध्रुब सापकोटालाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार सो पुरस्कार आगामि चैत ७ गते एक समारोहको आयोजना गरि समर्पण गरिनेछ ।

०००