२७ फागुन २०८२, काठमाडौं
नेपाल स्रष्टा समाजले गत वर्षदेखि प्रदान गर्दै आएको ‘परशु–कल्पना स्रष्टा सम्मान’ २०८२ का लागि वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गर्ने घोषणा गरेको छ ।
स्रष्टा खरेलले गीत सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याए बापत एक लाख १११ रुपैयाँ नगद राशिसहितको उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ ।
६ दशक बढी समयदेखि निरन्तर गीति लेखनमा साधनारत तथा सकृय गीतकार हुन् किरण खरेल । उनका सयौं गीत कालजयी छन् । नेपाली सिनेमाको सुरुवातको “माइतीघर” देखि अहिलेसम्मका चलचित्रका लागि उनले गीत लेखेका छन् ।
‘के हो तिम्रो नाउँ ?’, ‘मेरी परु’, ‘मेरी प्रियतमा’, ‘ए दूरका सितारा’ उनका प्रकाशित गीति सङ्ग्रहका पुस्तकहरू हुन् ।
नेपाली आख्यान जगतका शिखर ब्यक्तित्व परशु प्रधानको देहान्तपछि स्व. परशु प्रधान र उनकी पत्नी कल्पना प्रधानको नाममा उनका सन्तानहरूले स्थापना गरेको यो पुरस्कार गत बर्ष बि.सं. २०८१ देखि प्रदान गर्न थालिएको हो । गत बर्ष यो पुरस्कार गणेश रसिक र ध्रुब सापकोटालाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार सो पुरस्कार आगामि चैत ७ गते एक समारोहको आयोजना गरि समर्पण गरिनेछ ।
०००
