०१ असोज २०८२, काठमाडौं
‘शोकलाई शक्तितर्फ,मुलुकलाई शान्तितर्फ’भन्ने नारा लिएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)नेपाल च्याप्टर द्वारा आयोजित ‘शान्ति कविता पाठ’कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरी जेन-जि आन्दोलनमा सहिद भएका कलिला बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
माइतीघर मण्डलामा भएको कार्यक्रममा कविहरू लक्ष्मण सिटौला,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,लक्ष्मी थापा,राधिका कल्पित,रूपसिंह भण्डारी,सुचिता काफ्ले,राज रजक,भवानी खतिवडा,ऋषभदेव घिमिरे,विजयध्वज थापा,शोभा सरभ,द्वारिका कुँइकेल,मन्जिला अनिल,राधा कँडेल, इन्दिरा ढकाल,शान्ति रिसाल,कमला रिसाल,डा.घनश्याम खतिवडा,रूपा रिसाल,घनेन्द्र ओझा,ललिता दोषी तथा रश्मि रिमाल लगायतले रचना वाचन गरेका थिए ।
सो अवसरमा कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जेन-जि आन्दोलनबाट अब राजनीतिक परिवर्तन भई देशको अवस्था फेरिने कुरा बताए।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले जेन-जि आन्दोलनबाट अब देशले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्दै धर्म,संस्कृति र भाषा साहित्यमाथिको अतिक्रमण अन्त्य हुने कुरा बताए।
कविता वाचनपछि सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै मैनबत्ती बालेर शोक व्यक्त गरिएको थियो भने आन्दोलनमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन कवि समाजकी महासचिव रञ्जना निरौलाले गरेकी थिइन्।
(सुभाषचन्द्र पौडेल ‘भिमफेदीया’ काठमाडौंको सहयोगमा)
०००
