१५ असार २०८२, काठमाडौं
साहित्यपोस्टले हरेक वर्ष नवोदित कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कारहरू ‘साहित्यपोस्ट काव्य पुरस्कार’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ तथा ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ वितरण सम्पन्न भएको छ ।
यस वर्ष काब्यतर्फ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ले ‘साहित्यपोस्ट काव्य पुरस्कार’प्राप्त गरेको घोषणा प्रा.डा. सनतकुमार वस्तीले गरे । आख्यानतर्फ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’ले प्राप्त गरेको घोषणा गोपी मैनालीले गरे भने गैर आख्यानतर्फ ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’ले प्राप्त गरेको महेश पौडेलले घोषणा गरे ।
विजेता स्रष्टाहरूलाई कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा उपस्थित पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रुपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरे ।
यी तीनवटै पुरस्कारको राशी ५० हजार नगद रहेको छ ।
यस वर्ष अन्तिम छनौटमा परेका ९ कृतिका उपस्थित स्रष्टाहरूलाई साहित्यपोस्ट नवरत्न सम्मानका रुपमा प्रमाणपत्रका साथमा खादा ओढाइएको थियो । यसरी सम्मानित हुनेहरुमा कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’का सर्जन हेमन्त शिशिर, ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’का सर्जन आर्यश, ‘मायाको आयतन’का सर्जक मधुसुदन घिमिरे, कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’का सर्जक रमण, उपन्यास ‘धीमहि’का सर्जक जयराम तिमल्सिना, उपन्यास ‘प्याउली’का सर्जक बालिका वान्तावा, नियात्राकृति ‘छालबाटो’का सर्जक रमेश भुसाल, संस्मरणकृति ‘छोटु’का सर्जक सञ्जीव पौडेल र निबन्धकृति ‘मार्केट अफ स्वीटहार्ट’का सर्जक तारा भट्टराई रहेका थिए ।
समारोहमा ‘साहित्यपोस्ट एप’को औपचारिक रूपमा सार्वजनिकीकरण समेत गरिएको थियो तथा एप तथा साहित्यपोस्टका पछिल्ला गतिविधिहरूका बारेमा अच्युत कोइरालाले प्रकाश पारेका थिए।
कार्यक्रममा कवि तथा अधिकक्ता पेशलकुमार लुइँटेलले आउँदो वर्षबाट आफ्नो प्रायोजनमा साहित्यपोस्टमार्फत् अंग्रेजीतर्फ समेत एक पुस्तकलाई पुरस्कारको प्रायोजन गर्ने घोषणा गरे ।
सो कार्यक्रमको सुरुमा साहित्यपोस्टका कार्यकारी सम्पादक कृष्ण ढुङ्गेलले स्वागत मन्तव्य राखेका थिए तथा कार्यक्रमको सञ्चालन साहित्यपोस्टकी आख्यान सम्पादक तैं तैं धितालले गरेकी थिइन् ।
०००
