म नारी
हरि पौडेल
सत्य युगमा म बृन्दा थिएँ
पतिव्रता धर्ममा समर्पित।
तर स्वयं विष्णुले मेरो धर्म लुटे,
कहाँ जानु ?
न्याय माग्ने आवाज पनि मौन थियो।
त्रेतामा म अहिल्या भएँ
ध्यानस्थ, पतिको प्रतीक्षामा।
ईन्द्रको छलमा परेँ,
चन्द्रमा साक्षी थियो,
तर दण्ड मलाई
अपराध उसलाई होइन।
द्वापरमा म द्रौपदी भएँ
पाँच वीर पतिका बीचमा एक नारी।
न मैले जुवा खेलेँ,
न मैले दाउ लगाएँ,
तैपनि लज्जा खोसिँदै
सत्यवादीहरूकै सभामा
असम्मानित हुनुपर्यो।
म फेरि सीता भएँ
वनको पथ रोजेँ, प्रेममा अडिग।
रावणले छलपूर्वक हरण गर्यो,
लंका जलाइएपछि पनि
शुद्धताका लागि अग्निपरीक्षा दिनु पर्यो।
र अन्त्यमा — परित्याग।
सत्यको रक्षा हुने युगहरूमा पनि
नारी सधैँ प्रश्नचिह्नमै बाँधियो,
मर्यादा सधैँ पुरुषको परिभाषामा सीमित।
अब त कलियुग छ
मेरो सुरक्षा कसले गर्छ?
भन्छन्:
“नारी पूज्यनीय छे, लक्ष्मीको रूप हो।”
तर व्यवहारमा ?
पत्नी, छोरी, बुहारी
सर्वाधिक पीडा ममाथि नै ओइरिन्छ।
सायद
सहनशक्ति बढी छ भन्दै
सहने बाध्यता थोपारिएको छ।
तर आज म प्रश्न गर्छु
के म पूज्यनीय छु?
कि केवल भाषणको सजावट ?
ooo
कवि परिचयः कलैया वारामा जन्मेका कवि हरि पौडेल लामो समयदेखि नेदरल्याण्डमा बसोवास गर्छन् । झण्डै ५० बर्षअघिदेखि नै कविता लेख्न शुरु गरे पनि उनको पहिलो कृति “मेरो साहित्यिक यात्रा श्रीजना भाग १”( सन् २०१४) प्रकाशित छ । उनी गजल पनि लेखछन् र उनका उनका गजल संगीतबध्द भएर गाईएका पनि छन् ।
