२०८१ फागुन २९, काठमाडौं ।
नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशनमा प्रकाशित २२६ जना स्रष्टाहरुका मुक्तकहरु “मुक्तक मुहिम” पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभाप्तित्वमा सपन्न सो कार्यक्रममा मुक्तक विधामा नयाँ प्रयोगको रुपमा “मुक्तक मुहिम” आएको भन्दै आगामी दिनमा यस्तो संकलन प्रयासको निरन्तरतामा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, ले ‘मुक्तम मुहिम’ बारे परिचर्चा गर्दै दुई संस्थाको सहकार्यमा उपलब्धिमुलक कार्य भएको बताए । साथै उनले -“पोखरा घोषणापत्र २०७०” बाट मुक्तक नियमबद्ध भएको, त्यसले मुक्तकको सैद्धान्तिक बहसलाई केहीहदसम्म व्यवस्थापन गरेको तथा अब अभियान एउटै भएकोले मुक्तकसँग सम्बन्धित संस्थाहरु धेरै हुनु जरुरी नभएको बताए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले दुई संस्थाको पहलमा मुक्तकमा कहिले पनि कलम नचलाएका र पहिले लेखेर हाल मुक्तक लेख्न छोडेकाहरुसहित मुक्तकमा जमेका स्रष्टाहरु समेतलाई लेखनमा सहभागी गराउन सकेको वताए । उनले गाह्रो काममा हात हालेको र सफल भएको छौं भन्दै – नेपाल स्रष्टा समाजसँगको सहकार्यमा नेपाली निबन्धका चर्चित व्यक्ति उमेरले ९४ पुगेका तेजेश्वर बाबु ग्वँगसमेतलाई मुक्तक लेखाउनु सफलता भएको तथा उनी जस्तै कहिल्यै मुक्तक विधामा कलम नचलाउनेहरुलाई मुक्तक लेखाएर उत्साहित भएको बताए ।
नेपाल मुक्तक प्रतिष्ठानका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत गर्दै शुरू भएको सो कार्यक्रममा नेपाल स्रष्टा समाजका पूर्व अध्यक्षहरु पवन आलोक र विधान आचार्य, सुनिल अधिकारी, मदन नेपाल, शितल कादम्बिनी, विष्णुबहादुर सिंह, प्रदीप सापकोटा, तुलसीहरी कोइराला, प्रघुम्न जोशी, निशा केसी, प्रतिक घिमिरे, रुपा रिसाल, राजेन्द्र घिमिरे, बादल घिमिरे, निर्मल पराजुली लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए ।
सो पुस्तकमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमको मुक्तकको विस्तृत सैद्धान्तिक आलेख समेत समावेश गरिएको छ ।
