५ असोज २०८३, काठमाडौं ।
डा.रेखा यादव ‘निर्झर’द्वारा लिखित ‘प्रश्न’ (नेपाली र हिन्दी ) कथाकृति आज एक विशेष कार्यक्रमका बीच प्रज्ञा भवनमा लोकार्पण सम्पन्न भएको छ। कृतिलाई मञ्चासीन व्यक्तित्वहरू लगायत सभाकक्षमा उपस्थित सबै साहित्यप्रेमीहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले के का लागि लेख्ने र कसका लागि लेख्ने भन्ने कुराको चर्चा गर्दै चेतना परिवर्तनमा लेखक, कवि तथा कलाकारहरूको ठूलो हात हुने बताए। कथाकार डा. रेखा यादवलाई बधाई दिँदै उनले डा. रेखाको सामाजिक र राजनीतिक देनको पनि चर्चा गरेका थिए।
समालोचक प्रमोद प्रधानले कथाकार डा. रेखा यादवका बारे बोल्दै उनको यो पाँचौं कृति भएको बताए। कथाकृति पहिलो रहेको र यसअघि ‘आत्मचाह’ उपन्यास, कविताकृति ‘सुस्तरी’ लगायतका कृतिहरू प्रकाशनमा आइसकेको बताउँदै यो प्रश्न कथाकृतिमा २२ वटा कथाहरू रहेको र ती कथाहरू हाम्रै वरिपरिका कथा भएको बताए।
अर्का वक्ता प्रा.डा. विनोदकुमार विश्वकर्माले हिन्दी भाषामा रहेका २२ वटै कथाहरूका बारेमा हिन्दीमै बोलेर संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा पुस्तक प्रकाशक बलराम महतो, पूर्व मन्त्री शरत सिंह भण्डारीले डा. रेखा यादवको साहित्य सिर्जनाका बारेमा संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।
लेखकीय मन्तव्य राख्दै डा.रेखा यादवले हालसम्म उनले २१ वटा पुस्तक लेखिसके पनि ती दराजमा थन्किएको बताइन्। सरस्वती मात्र भएर नहुँदोरहेछ लक्ष्मी पनि हुनुपर्दोरहेछ भन्दै आर्थिक पाटोलाई उघारेकी थिइन्। आफ्नो पिता रामनारायण यादवको औँला समाएर हिँड्को समयको स्मरण गर्दै यादवले समाजमा देखिएका महिलाप्रतिको दृष्टिकोण र महिला भएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न नपाउने परिस्थितिबारे चर्चा गरेकी थिइन्। कथाहरू पढेर पाठकले जवाफ पाउनु हुने छैन कथामा प्रश्न गरेकी छु।कथा पढेपछि पाठकले जवाफ भेटेमा वा कुनै जिज्ञासा, सल्लाह र सुझाव भएमा पुस्तकमा रहेको इमेलमा लेखिपठाउन समेत आग्रह गरेकी थिइन्। सम्बोधन का क्रममा उनले पुस्तकको आवरणबारे चर्चा गर्दै भावार्थ बताएकी थिइन्।
कार्यक्रममा साहित्यिक पत्रकार संघको तर्फबाट कथाकार डा.रेखा यादवलाई सम्मान गरिएको थियो ।
सभापतिको आसनबाट बोल्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै कथाकार डा. रेखा यादवको संक्षिप्त परिचय सहित उनको व्यक्तित्व र कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा भोटेकोसीको बाढीबाट निधन भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
सो कार्यक्रमको सञ्चालन युवा पत्रकार स्मृति मिश्रले गरेकी थिइन्।
(सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को सहयोगमा)
०००
