१० बैशाख २०८२, काठमाडौं ।
नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको नगद राशि २० हजार १११ को ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ उदयपुरकी मालावती काफ्लेलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, समाजका पूर्वअध्यक्ष विधान आचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पुरस्कार संस्थापका प्रतिनिधि इन्द्रकुमारी खनाल लगायतले अर्पण गरे ।
सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आउनु भएकी काफ्लेले झ्याउरे गीत सिर्जना गर्नुका साथै संगिनीका माध्यमबाट सामाजिक रुपान्तरणको आवाज अभिव्यक्त गर्दै आएकी छिन् ।
नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष विधान आचार्यले सम्मानित स्रष्टा काफ्लेका बारेमा चर्चा गरे । उनले उदयपुरको चुहाडेकी मालावती काफ्ले नारी सशक्तिकरण र महिला उत्थानका लागि पहल गर्ने नारी स्रष्टा भएको बताए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उपयुक्त पात्रलाई छनौट गरेको भनेर समाजलाई धन्यवाद तथा सम्मानित व्यक्तित्व मालावती काफ्लेलाई बधाई दिए ।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै मालावती काफ्लेले महिलाहरुलाई दुःख नहोस्, आफूले पढ्न नपाए पनि अरुले पढ्न पाउन, समाजमा कुनै समस्या नहोस् भनेर अहिले पनि आफू समाजसेवामै सक्रिय रहने गरेको सुनाउँदै महिला समूह बनाएर उनीहरुलाई शिक्षित र जागरुक बनाउँदै आएको बताइन् ।
सोही कार्यक्रममा गीतकार पुष्पा खनालले रचना गरेको गजल ‘पिरतीको गीत’ को लिरिकल भिडियो पनि लोकार्पण गरिएको थियो । समारोहमा गायक गंगा सोनामले सो गीतको केही अंश गाएर सुनाएका थिए । यो गजललाई नरेन्द्र प्यासीले संगीतबद्ध गरेका हुन् ।
हाल अमेरिकामा रहेकी पुष्पा खनालले भिडियो सन्देशमार्फत सम्मानित स्रष्टा, अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै पुरस्कार स्थापनाबारे मन्तब्य राखेकी थिइन् ।
समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान २०७५ सालमा आफ्नी माता दमन्ता खनालको स्मृतिमा स्थापना गरेकी हुन् ।
कार्यक्रममा सभाध्यक्ष घायलले आफूसहित पुरस्कार संस्थापक पुष्पा खनाल र रञ्जना निरौला सदस्य रहेको समितिले काफ्लेलाई छनौट गरेको जानकारी दिंदै मालावतीलाई सम्मान गर्न पाउँदा समाज पनि सम्मानित भएको बताए ।
कार्यक्रमको सञ्चालन समाजका सदस्य माधव विडारी चेतनपथले गरेका थिए भने समाजका सदस्य शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए ।
स्मरणीय छ यो पुरस्कार २०७५ सालबाट नेपाल स्रष्टा समाजले प्रदान गर्दै आएको छ र यसअघि साहित्यकारहरु सिर्जना शर्मा, इन्द्रा गहतराज, डिक्रा वादी, प्रतिमा पोख्रेल, निर्मला मुरारी, लता गिरी, यमुना पराजुली र लक्ष्मी तिवारी (तिवारी आमा) सम्मानित भइसकेका छन् ।
०००
