१२ माघ २०८२, काठमाडौँ ।
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको कार्यसमितिको बैठकले दुई मुक्तककारहरु उषा शेरचनलाई ५१ हजार राशीको ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ३१ हजार राशीको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
वि. सं. २०१२ भदौ ६ गते जन्मिएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका एक दर्जन कृतिहरू प्रकाशित छन् ।शेरचन वि.सं. २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुन् ।
यसैगरी वि. सं. २०२२ माघ ६ गते जन्मिएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृतिलगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । विगत लामो समयदेखि बेलायतमा बस्दै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आउनुभएका छन् ।
दुवै स्रष्टाहरूले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यसअघि ‘भीमदर्शन मुक्तक पुरस्कार’ यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई समर्पण गरिएको थियो ।
नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका सम्मानमा स्थापित यी दुवै पुरस्कारहरू प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते आइतबार एक समारोहको आयोजना गरी समर्पण गरिने कुरा प्रतिष्ठानले जनाएको छ ।
000
