१५ नोभेम्वर २०२५, वाशिङ्टन डिसी
भर्जिनियालाई कर्मथलो बनाउँदै आएका कवि प्रेम सङ्ग्रौलाको दोश्रो कृति, कविता सङ्ग्रह “पासपोर्ट” स्थानिय थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा विमोचन सम्पन्न भयो ।
सो कृतिलाई उपस्थित अतिथिहरूमध्ये कृतिका समीक्षकहरू वसन्त श्रेष्ठ, सुदीपभद्र खनाल, डा. हरिराज भट्टराई, मेरिल्याण्ड तथा पेनसिल्भेनियाका लागि अवैतनिक महाबाणिज्यदूत लोकगायक प्रेमराजा महत, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी,गायक द्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्य, नेपाली दूतावासका रक्षा तथा सैनिक सहचारी पूर्णप्रसाद ढकाल, कृतिका स्रष्टा प्रेम सङ्ग्रौला तथा उनकी पत्नी मञ्जु सङ्ग्रौलाले सामुहिक रुपमा विमोचन गरेका थिए ।
पारिवारिक आत्मिय वातावरणमा सम्पन्न सो कार्यक्रमको शुरूमा कवि पत्नी मञ्जु सङ्ग्रौलाले अतिथिहरूको स्वागत गरेकी थिइन् ।
तत्पश्चात् साहित्यकार वसन्त श्रेष्ठले कवि प्रेम सङ्ग्रौलाको चिनारी प्रस्तुत गर्दै सो सङ्ग्रहका कविताहरूको चर्चा गरे ।
कवि सुदीप भद्र खनालले कविताहरूको चर्चा गर्दै कविताहरू शक्तिशाली भएको तर श्रृङ्गारिकता खट्केको बताए ।
डा. हरिराज भट्टराईले विदेशमा लेखिएका रचनाहरूलाई डायस्पोरिक भन्न नहुने मत प्रकट गरे ।सो कृतिवारे गोपाल रेग्मीले छोटो मन्तब्य राखेका थिए भने हरि घिमिरेले सो किताब बारे पठाएको समीक्षात्मक मनतब्य कार्यक्रममा सुनाइएको थियो ।
नेपाली दूतावासका रक्षा तथा सैनिक सहचारी पूर्णप्रसाद ढकालले शुभकामना मन्तब्य दिए ।
तत्पश्चात् डा. अनिल रेग्मी, कविका सुपुत्री अनु सङ्ग्रौला, श्यामसुन्दर आचार्य, कविका साली शारदा बुढाथोकी तथा कविता घिमिरेले विमोचित कृतिका कविताहरू वाचन गरे । सो अवसरमा कविका जेठी छोरी मानस्वी सङग्रौला तथा ज्वाईं एली एमक्राउटले कविता वाचन गरेका भिडियो प्रदर्शन गरिएको थियो ।
त्यस कार्यक्रममा खेम सङ्ग्रौलाले महाकवि देवकोटाको मुनामदनको एक अँश गाएर सुनाएका थिए ।
कार्यक्रमको अन्तमा कवि प्रेम सङ्ग्रौलाले धन्यवाद ज्ञापन गर्दै विमोचित कृतिबाट कविता वाचन गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन सहदेव पौडेलले गरेका थिए ।
