‘युद्ध, युद्ध नै हुन्छ’ पुस्तक लोकार्पित

मुख्य समाचार

८ असार २०८२, काठमाडौं ।

एपेक नेपालको आयोजनामा कवि एवं गीतकार युवराज अधिकारीको नविनतम कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मा. बद्रीप्रसाद पाण्डे, विशिष्ट अतिथिहरु मा. अमरेशकुमार सिंह, मा. महेश बस्नेत, वरिष्ठ कवि तुलसी दिवस, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ संयुक्त रूपमा लोकार्पण गरे ।
कृतिबारे बोल्दै प्रमुख अतिथि पाण्डेले ‘युद्ध, युद्ध नै हुन्छ’ कविताकृतिले समकालीन विश्वको पीडा उजागर गरेको बताउँदै “युद्ध कुनै पनि कोणबाट स्वीकार्य हुँदैन” भन्ने सन्देश अधिकारीको कविताले दिन खोजेको बताए ।
वरिष्ठ कवि तुलसी दिवसले संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि अधिकारीको कवितामा समकालीन चेतना र यथार्थको गहिरो अभिव्यक्ति रहेको बताए ।
प्रकाश सायमिले अधिकारीको समग्र लेखन यात्राबारे चर्चा गरे ।
सर्जक युवराज अधिकारीले आफ्नो लेखन यात्राको चर्चा गर्दै “कविता भनेको माटोको सुगन्ध बोकेर जनमानससम्म पुग्ने माध्यम हो” भने । उनले केही कविता समेत सुनाए ।
कार्यक्रममा अभिनेता क्याप्टेन विजय लामाले लोकार्पित कृतिबाट ‘युद्ध, युद्ध नै हुन्छ’ वाचन गरे । अभिनेता निखिल उप्रेतीले ‘जिन्दगी यस्तै त हो कान्छा’ कविता वाचन गरे ।
कवि राजेन्द्र शलभले कार्यक्रमको सुरुमा स्वागत भाषण गरेका थिए ।
कार्यक्रममा कलाकार वीरेन्द्र हमालको निर्देशनमा कवि अधिकारीको कविता ‘जिन्दावाद र मुर्दावादको सहरमा कोही आउने छ’ को नाट्यमञ्चन गरिएको थियो ।
कार्यक्रमको कलाकार दिनेश डी. सी. ले सहजीकरण गरेका थिए ।