२७ जेठ २०८२, काठमाडौं
गत जेठ १८ गते ब्रम्हलीन गीतकार,सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको १० औँ दिनको पुण्य तिथिका अवसरमा वासु शशि स्मृति परिषदले एक श्रद्धाञ्जली सभा आयोजना गरी रसिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।
सो श्रद्धाञ्जली सभामा बुलु मुकारुङ्ग,लोचन भट्टराई तथा राधेश्याम लेकालीले रसिकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुका साथै उनले सृजना गरेका गीत तथा सङ्गीतका बारेमा मन्तव्य राखेका थिए । साथै गायिका लोचन भट्टराईले एउटा गीत पनि गाएर सुनाएकी थिइन्।
सभामा वासुशशी स्मृति परिषदका सदस्य सचिव प्रद्युम्न जोशी भावुक भएर श्रद्धाञ्जली प्रकट गर्दै २०६० मा रसिकले वासु शशि साहित्य पुरस्कार प्राप्त गरे पश्चात् २०६१ देखि परिषदसँग संलग्न रही २०६३ देखि अध्यक्षका हैसियतले कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आएको तथा रसिकले जिन्दगीभर पीडा लुकाएर हाँसेको बताए।
शोक सभामा कविहरू ठाकुर बेल्बासे,दिलिप श्रेष्ठ तथा रचना सिंहले रसिकप्रति समर्पित कविता पनि वाचन गरेका थिए।
सभाध्यक्ष तथा वासु शशि स्मृति परिषदका उपाध्यक्ष हिरण्यकुमारी पाठकले रसिक साँच्चै रसिक स्वभावका रहेको र जतिसुकै दुःखमा परे पनि हाँसेर नै बाँचेको बताइन्।
श्रद्धाञ्जली सभाको सहजीकरण तथा सञ्चालन यादव भट्टराईले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
