१ अगस्त २०२६, वाशिङ्टन डिसी
नेपाली साहित्य जगतका दुई प्रतिभा साहित्यकार गीताकेशरी र साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको निधनमा शोकसभा गरी दिवङ्गत साहित्यकार द्वयमा श्रध्दा अर्पण गरियो ।
वाशिङ्टन डिसी मेट्रो क्षेत्रका सकृय दुई संस्था अमेरिका नेपाल साहित्य प्रतिष्ठान तथा साङ्ग्रिला डायलगले संयुक्त रुपमा मेरिल्याण्डको गेथेस्वर्ग शहरमा अवस्थित गेथेस्वर्ग रिजनल लाइब्रेरीको सभाकक्षमा आयोजित सो शोक सभाको शुरूमा दिवङ्गत साहित्यकारहरुको तस्विरमा सबैले पुष्पार्पण गरेका थिए । त्यसपछि दिवङ्गत आत्माहरूको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएजो थियो ।
तत्पश्चात् साङ्ग्रिला डायलगकी अध्यक्ष सीता पाण्डेले कार्यक्रमको आयोजनाको बारेमा तथा दिवङ्गत साहित्यकारहरूको साहित्यिक योगदानको चर्चा गर्दै अभिब्यक्ति पत्रिका मार्फत आफू नयाँ लेखिका हुँदा मञ्च प्रदान गरेको बताइन् । साथै पचासौं वर्ष झ\अभिव्यक्ति प्रकाशनको क्रममा अनेक लेखकलाई त्यस्तै मञ्च प्रदान गरेको बताइन् ।
सो कार्यक्रममा डीक बहादुर तामाङ,लोकनाथ तिवारी, पुष्पा खनाल, रमेश खनाल, योगेश उपाध्याय, सहदेव कोइराला, तीर्थराज पाण्डे तथा मधुकर अधिकारीले दिवङ्गत साहित्यकार द्वयको योगदानको चर्चा गर्दै श्रध्दाञ्जली अर्पण गरे ।
अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले गीताकेशरी तथा नगेन्द्रराज शर्मासँगको साहित्यिक सहचार्यको चर्चा गर्दै गीताकेशरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा पहिलो महिला सदस्य सचिव भएको सम्झना गरे । त्यस्तै नगेन्द्रराज शर्माको अग्रसरतामा सञ्चालित अभिब्यक्ति भेटघाटको अवसरमा आफूले नगेन्द्रराज शर्माको अभिनन्दनका लागि प्रस्ताव गरेको र सो प्रस्ताव सफल भएको सम्झना गरे । उनले नगेन्द्रराज शर्माका नाती प्राञ्जलराज शर्माले टेक्सासबाट पठाएको सन्देश समेत पढेर सुनाएका थिए ।
कार्यक्रमका अध्यक्ष अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले स्रष्टा द्वयको सम्झनामा अमेरिका नेपाल साहित्य प्रतिष्ठान तथा साङ्गृला डालगलाई धन्यवाद ब्यक्त गर्दै दुवै साहित्यकारहरूप्रति श्रध्दाञ्जली अर्पण गरे ।
कार्यक्रम कवयित्री तारा पराजुलीले सञ्चालन गरेकी थिइन् तथा उनले दिवङ्गत प्रतिभाहरूको सम्झनामा रचना गरेको मुक्तक सुनाएकी थिइन् ।
सो कार्यक्रमलाई ईनेप्लिज डटकमका तर्फबाट विश्वराज थापाले प्रत्यक्ष प्रशारण गरेका थिए ।
