९ बैशाख २०८२, काठमाडौं
जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको पाँचौं ठेली प्रकाशित भएको छ । यो पाँचौं ठेलीको प्रकाशनसँगै जगदम्बा नेपाली बृहत् इतिहासले पूर्णता पाएको छ । यो ठेलीमा प्रा.डा. दयाराम श्रेष्ठको “आधुनिक नेपाली कथाको इतिहास”, डा. खेम दाहालको “आधुनिक नेपाली उपन्यासको इतिहास”, प्रा. रामचन्द्र पोखरेलको “आधुनिक नेपाली नाटकको इतिहास” र ज्ञानु अधिकारीको “नेपाली समालोचनाको इतिहास” तथा प्रमोद प्रधानको “नेपाली निबन्ध र सम्बद्ध विधाहरूको इतिहास” समावेश छ ।
स्मरणीय छ पहिलो ठेलीमा “भाषा, ब्याकरण र अभिलेख” , दोश्रो ठेलीमा “लोक साहित्य, प्रारम्भिक काल, माध्यमिक काल र अनुवाद”, तेश्रो ठेलीमा नेपाल बाहिरको नेपाली साहित्य” तथा चौथो ठेलीमा “नेपाली पद्य र बाल साहित्य” समावेश थियो । यी प्रत्येक ठेलीमा सरदर १५०० अधिक पृष्ठ रहेका छन्।
नेपाली वाङ्मयको क्षेत्रमा यसअघि यति बृहत् नेपाली साहित्यको इतिहासको लेखिएको वा प्रकाशित भएको थिएन । यो योजनाको सपना नेपाली वाङ्मय सेवी, अनुसन्धाता, निबन्धकार तथा मदन पुरस्कारका प्रणेता तथा जगदम्बा प्रकाशनका संस्थापक कमल दीक्षितको थियो तर उनको जीवनकालमा यो पूरा हुन पाएन ।
पहिलो ठेली विसं २०७४ सालमा प्रकाशित भएको थियो र सबै ठेलीका प्रधान सम्पादक प्रा.डा. माधवप्रसाद पोखरेल हुन् ।
