रन्जुश्री पराजुली
ट्रान्जिट शब्द नेपाली भाषामा आगन्तुकको रूपमा भित्रिए पनि आज भोलि यो नेपाली जनबोलिमा बारंबार घोटिने गरेको पाइन्छ ।संसार भरी हवाई यात्राको विकास द्रुतगतिले भएको सिलसिलामा यो शब्द पनि द्रुत गतिले नै सुनिन थालेको हो। । ट्रान्जिट एउटा छोटो शब्दले गहिरो अर्थ जनाउँछ छ । यात्रा गर्दा एक ठाउँबाट अर्को ठाउँ जाँदा केही समयको लागि कतै रोकिनु पर्यो भने त्यसलाई ट्रान्जिट भनिन्छ ।यात्रा विभिन्न उद्देश्यले गरिन्छ । भौतिक विकास द्रुत गतिले भएकोले हवाईजहाजको माध्यम द्वारा संसारको एक पोलदेखि अर्को पोल सम्म पुग्न सहजै सकिए तापनि विभिन्न कारणले गर्दा बीचमा केही समय कतै रोकिन पर्ने अवस्था आउँछ । त्यो समय ट्रान्जिट हो। छोटा लामा ,देश विदेशका यात्रा गर्दा मैले धेरै थरीका ट्रान्जिटको अनुभव गरेको छु। इस्वी २०२४.१२.२७ मा गरेको मेरो यात्राको ट्रान्जिटको अनुभव बारे मलाई केही लेख्ने इच्छा लाग्यो ।समयले संसार घुमाएको छ। त्यही समयले मान्छेलाई पनि यताबाट उता र उताबाट यता च्याम्पटी घुमाए जस्तो घुमाएको छ । समयको यो फन्दाबाट कतै केही पनि अछुतो रहन पाउँदैन ।बेला मौकामा यताबाट उता अनि उताबाट यता अर्थात् संसारको एउटा कुनाबाट अर्को कुना तिर पनि जाने आउने क्रम भैरहन्छ । आज भोलि मात्र होइन सयौं वर्ष अगाडिदेखि विभिन्न कारणले यात्रा गरिरहेका छन् । महिनौं दिन लगाएर पनि तीर्थ यात्रा हाम्रै पुस्ताले गरेका थिए भन्ने कुरा हामीले हाम्रै पूर्वजहरूबाट सुनेका छौं । उनीहरू भरिया तरिया ,रसद पानी सहित ठाउँ ठाउँमा बास बस्दै अर्थात् ट्रान्जिट हुँदै गन्तव्यमा पुग्थे रे ।
आधुनिक विकासको युगमा एक ठाउँबाट अर्को ठाउँ पुग्न त्यति धेरै समय नलागे पनि विविध कारणले ट्रान्जिटमा बस्नु पर्छ। त्यस्तै मौका घुमी फिरी कन मलाई पनि आक्कल झुक्कल आई रहेको छ। २०२४ डिसेम्बर २७ तारिख मलाई कतार एयरलाइन्सको जहाजबाट जर्ज बुस इन्टरनेसनल अन्तरराष्ट्रिय एयर पोर्ट, ह्यूस्टन अवतरण गर्नुपर्ने थियो । यो रुटबाट मैले पहिले पनि उडान गरिसकेको छु । यो पटकको त मेरो उडान नोभेम्बर १६ मा थियो। तर भतिजी प्रभा र ज्वाइँ साहेब पनि त्यता जाने सुनेर मैले लामो बाटो आफ्नो परिवार सङ्गै जान राम्रै हुन्छ भन्ने सोचेर आफ्नो उडानलाई केही रकम थपेर सङ्गै उड्ने मिलाएँ । त्रिभुवन अन्तर राष्ट्रिय विमान स्थलमा तोकिएको समयमा हामी एक जुट भयौं। चेक इन गर्यौं । भित्र पस्यौं। दुई घण्टा गफगाफ गरेर बितायौं । कतारमा केही घण्टा ट्रान्जिट सधैं नै हुन्छ । कुनै समयमा सात घण्टा ट्रान्जिट भएर नास्ता पानी पनि दिन्थ्यो । म आफू एक्लै ट्रान्जिटमा परेको बेला त्यो सुविधा लिएको छु । शौचालयदेखि हवाईजहाज भित्र सम्म नेपाली श्रमिकहरू भेटिन्छन् । अत्यन्त सहृदयताका साथ नेपाली भाषामा बोलेर सहयोग गर्दछन् । यो पटक पनि सात घण्टा नै कुर्नु पर्ने थियो तर टेक्निकल समस्याले गर्दा दस घण्टा कुर्न पर्नेमा हामी सहित अरू पनि केही पर्यौं । विनम्र शब्दमा ” फ्लाइट ढिलो भएकोमा क्षमा प्रार्थी छौं । यहाँहरूको सुविधाको पुर्ण जिम्मेवारी हामी लिन्छौं” भनेर अनाउन्स् गरे । हामीलाई लिन सटल आयो । त्यस्मा बसेर हामी केही सङ्ख्या गुड्यौं । त्यसले निकै पर त्यो दिन चलनमा नआएको एउटा अफिस जस्तो ठाउँमा हामीलाई लगेर छोडिदियो ।
हामीहरू विभिन्न देशका थियौं ।”पानी र स्यान्यक्स दिन्छौँ” भनेका थिए । ।समय बित्दै गयो । फाट्ट फुट्ट सटल आएर पहिले देखिन कुरेर बसेका यात्रुलाई लिएर जान्थ्यो । त्यसै बीच एकजना टाउको देखि खुट्टासम्म कालो लुगाले छोपिएकी महिला ह्वाँह्वाँ रुन लागिन् । सबै मुखामुख गर्न लागे । सोध्न हुने हो कि नहुने भनेर अकमक्क परेँ। अर्को पट्टि एउटा मेचमा एक जना नेपाली गृहिणी महिला ठूलो स्वरले नेपालीमा फोनमा कुरा गरिरहनु भएको सुनेर उहाँ सङ्ग त बोल्न हुन्छ नि भनेर मैले नजिकै गएर “नेपाली बोल्नु भएकोले सोधेको के भयो । केही समस्या पर्यो कि ” भनेर सोधेँ । वहाँले ” मेरो घर झापा हो ।अहिले काठमाडौं जाने मान्छेसङ्ग साथ लगाएर छोरा बुहारीले मलाई पठाएका । मलाई यहाँ बस्नुस है हामी एकै छिन पसल तिर घुमेर आउँछौं भनेर उनीहरू कता हिँडे कता अब हवाई जहाज मलाई नलिइकन काठमाडौं उड्यो भने के गर्ने नि” भनेर आत्तिदैं रुन लाग्नु भयो । तपाईलाई छोडेर हवाईजहाज उडदैन नआत्तिनू भनेर सम्झाएँ । त्यसै बीच सटलहरु आउने जाने , प्रतिक्षा रत यात्रुलाई लिएर जाने गर्न लाग्यो ।तर हामी ह्यूस्टन जानेलाई लिन आएन ,मेरो मन सशङ्कित भयो सटल चालकलाई हामी यहाँ कति घन्टा कुर्ने ? खाना ,पानी केही पनि छैन । बस्ने ठाउँ पनि राम्रो छैन “भन्दा । न आत्तिनुन अब एकै छिन मा तपाईहरुलाई लिन आउँछ ” भनेर गुड्यो ।मलाई टाउको पनि दुखी रहेको थियो ।भतिजी प्रभा र टीका ज्वाइँ ” हामी केही खानेकुरा पाउँछौं कि खोजेर ल्याउँछौं ” भनेर गए ।म तीनबटा ब्याक प्याक कुरेर बसें ।आधा घन्टा जति पछि कफी र बनाना केक लिएर आए । “कफिसप अलि पर नै थियो ।फेरि हुल पनि थियो त्यसैले ढिला भयो भनेर छोरी प्रभाले भनी “। थकाई र भोकले गर्दा त्यो खाजा अमृत बराबर स्वादिलो भयो ।पूरा दस घन्टा कुरे पछि हामीलाई लिन सटल आयो।
हवाईजहाज चढ्ने लाइनमा एक जना अलि रोगी जस्ता देखिने बुढा मान्छेलाई ह्वील चिएरमा ल्याएको थियो । उनीसँग स्टाफले पासपोर्ट हेर्न माग्यो । ती बुढाले सबै खल्ती छामेर हेरे ,ब्याग हेरे कतै पनि पासपोर्ट पाएनन् । पसिना काढ्दै आत्तिएको अनुहार ले यताउता सबैतिर छामे ।त्यो देखेर स्टाफहरूले ” नआत्तिइकन हेर्नुस त ।” भनेर सौहार्द तरिकाले सम्झाए । बुढाले पहिले नै खल्तीबाट झिकिसकेको रहेछ । चलमलाउँदा भुइँमा खसेछ। त्यो पाइयो, बुढा दङ्ग परेर पसिना पुछेको दृश्य हेर्न लायक थियो।
बेला भए पछि सबै यात्रुले हातमा पासपोर्ट र बोर्डिङ पास देखाउँदै प्लेन भित्र पस्नु पर्छ । त्यसमा एयर लाइन को कर्मचारीको अफिसियल प्रक्रिया पूरा गरेर भित्र छिराउँछन् । हामी भित्र छि-यौं आआफ्नो सिट नं खोजेर झोलालाई माथी पट्टी र्याकमा राखेर सिटमा बस्यौं । हवाईजहाज उड्ने बेलामा क्याप्टेनले आफ्नो नाम बताउँदै कतारबाट जर्ज बुस अन्तरराष्ट्रिय एयर पोर्ट पुग्न साढे सोर्ह घण्टा लाग्छ ” भनेर उद्घोष गरे अनि परिचारिकाले कम्मरमा पेटी बाँध्ने तरिका अनि अक्सिजन चाहियो भने यसो गर उसो गर भनेर अभिनयात्मक तरिकाले सिकाइन् । बिस्तारै हवाईजहाजले उँचाई लिँदै माथि माथि आकाशमा बत्तिन थाल्यो ।जहाजको झ्यालबाट हेर्दा आफू बादल माथि माथि परीहरूको देश पुग्न लागेको महसुस भयो । जहाज भित्र शान्ति छायो ।कोही मुख छोपेर सुते ,कोही अगाडिको टि भि खोलेर आ आफ्नो मातृभाषाका सिनेमा कानमा हेड फोन लगाएर हेर्न थाले । हिन्दी सिनेमा पनि थियो । डिनरको बेला खानेकुरा धेरै छनोट गर्न नमिल्ने थियो । जे दियो त्यही मन लागे खाने नलागे नखाने गरियो । पहिले पहिले कतार एयरलाइन्सले खाना राम्रो दिन्थ्यो । तर यो पटक राम्रो दिएन । लामो यात्रा ,ठूलो जहाजभरि यात्रु थियो ।हवाईजहाज आफ्नो रफ्तारमा उड्न थाल्यो । भित्र त्यति आवाज आएन ,अनि हल्लाउन पनि त्यति हल्लाएन । प्राय: धेरै यात्रु मुख छोपेर सुते । कोही घुर्न थाले ।कोही रेस्ट रुम तिर लाइन बसे ।
मलाई यात्रा गर्दा निन्द्रा पटक्क लाग्दैन । आँखा चिम्लेर आफूले भोगेका ट्रान्जिटहरूको सम्झना गर्न थालें । एक पटक जाल एयर लाइन्सबाट सानो छोरा लिएर श्रीमान भएको देश एडीनबरा जानू पर्यो । ट्रान्जिट ढाका थियो। काठमाडौंमा जन्मिएर हुर्किएकी म त्यति बेला सम्म कतै गएकी थिइन ।ढाकामा हवाईजहाजबाट ओर्लिएर होटेल पुर्याउने बस चढिन्जेल सम्म पनि गर्मीको चाप खपी सक्नु थिएन । त्यसमाथी पनि सानो छोराले ह्वाल ह्वाल्ती छादे पछि मेरो पनि सातो गयो । तर धपेडी र गर्मीले उसलाई सञ्चो नभएको रहेछ । होटेल पुगेर आफ्नो कोठामा शितल एसीमा बसेर नुहाए पछि उसलाई आराम भयो । त्यस्तै एक वर्ष पछि काठमाडौं फर्कदा दिल्लीबाट काठमाडौं आउन पर्ने प्लेन ल्याण्ड गर्न मौसम बाधक भएर कलकत्ता फर्कायो । त्यो रात त्यहीकै पाँच तारे होटेलमा ट्रान्जिट राख्यो । साँझको डिनर भव्य थियो । तर लिंदै जाँदा बिफको परिकार पनि छताछुल्ल भएकोले मिठाई र फलफूल खाएर कोठामा फर्कियौं ।भोलि पल्ट बिहान आठ बजे प्लेन काठमाडौंको लागि उड्यो ।मन आनन्द भयो ।
यसै सिलसिलामा अर्को पनि एउटा रोचक ट्रान्जिटकी प्रसङ्ग जोड्न मनलाग्यो । कोभिडको बेला थियो। सन्तानहरू पाताल देशमा नै थिए । घरमा म र शितल लामा छोरी मात्र थियौं। कोभिडले मृत्यु भएमा लास लाने जलाउँने सबै आर्मीले गरेको थियो । रोग सर्छ भनेर आफन्तहरू सम्म नजिकै आउँदैन थिए ।यस्तो परिस्थितिले मलाई भयावह बनायो । जति सक्यो चाँडो काठमाडौं छोडी हालुँ जस्तो भयो । तर हवाई उडान पनि प्राय बन्द थियो । यताउति भनि सुनि नेवारा गरेर डवल पैसा तिरेर चार्टर प्लेनमा म उडें । मन हलुका भयो ।अमेरिका पुगेर पनि पन्ध्र दिन आईसोलेसनमा बसेँ। यस्तै सोच्दा सोच्दै झप्प आँखा लागेछ । सङ्गैको यात्रुले एक्सक्युज मि भनेर ट्वाइलेट जान बाटो मागेपछि बिउँझिएँ। भोलि पल्ट बिहान ब्रेकफास्ट ल्याएन । बेलुका पनि राम्ररी खाएको थिइन । त्यसैले मैले परिचारिकालाई ब्रेकफास्ट खैत ? भनेर सोध्दा ” एकैचोटी ब्रन्चदिने अर्थात ब्रेक फास्ट र लन्च एकै पटक दिने भन्यो । समय कति भएको हो कुन्नी सायद कतारको लन्च टाइम भएको होला लञ्च बाँड्न थाले । तर कुनै परिकार पनि खाई हालुँ जस्तो थिएन । नेपालबाट २७ डिसेम्वरमा उडेको चार प्लस १६ घन्टा अकाशमा फन्को मारेर गन्तब्यमा पुगियो। हवाईजहाजबाट ओर्लिए पछि पनि मलाई टाउको घुमाई रहन्छ ।आँखा चिम्लेर बस्दा हवाईजहाज चढेको आभास हुन्छ । लामो दूरीको हवाई यात्रा गरे पछि मलाई दुई दिन जति टाउको घुमाई रहन्छ । यो पटक पनि त्यस्तै नै भयो । जनवरी को पहिलो दिन लुनाको जन्मोत्सव पर्छ ।अमेरिकामा जन्मोत्सव सबैले भव्य तरिकाले मनाउँछन् । ३१ डिसेम्बरको साँझ प्रजेश बाबुको आमा पनि क्यानाडाबाट आउनु भएकोले हामी बाहिर खाना खान गयौं । आजभोली संसार भर नै ख्याती कमाएको बिजुलीले चल्ने टेस्ला मोटर टेक्ससमा धेरै चल्छ । टेस्ला कम्पनीको मालिक इलन मस्कको अफिस पनि अस्टीनमा छ । उनको एउटा घर पनि यहाँ छ । टेस्ला कम्पनीले धेरै मोडेलका महङ्गा कारहरू आज भोलि संसार भरी ख्याति प्राप्त छ ।
अमेरिकामा ड्राइभर नै नचाहिने गाडी सडकमा चलेको देखिन्छ । त्यो देख्दा मलाई “आम्मै नी कस्तो अचम्म । मोटर चलाउन चालक नै नचाहिने ? विज्ञानको कति ठूलो करामत । यस्तो गाडीमा कम्प्युटरमा चाहिने प्रोग्राम सबै सेट गरेको हुँदो रहेछ जता पुग्ने हो यो कारमा बसेपछि त्यता पुर्याई दिन्छ । त्यो दिन मलाई अलि सञ्चो नभएकोले गाडी पार्क गरेर खाने ठाउँ खोज्यौं । सबैलाई चित्त बुझ्ने इटालियन रेस्टुरेन्टमा खाना खाए पछि बिना ड्राइभरको गाडी चढ्ने भनेर केटाकेटीहरू जिद्दी गर्न थाले ।चलाउने चालक बिनाको ट्याक्सी कसरी चढ्नु भनेर मेरो मन आत्तिई नै रहेको थियो ।आफू कायर भएर डराएको मानसिकता देखाउन पनि भएन । तीन वटा स्वचालित ड्राइभर बिनाको गाडी चढेर घुम्यौं । भित्र बसेपछि गाडी भित्रको कम्प्युटर यता जाने ,अब पुग्न यती समय बाँकी छ भनेर बोली रहन्छ। गाडीभित्र बसेपछि मलाई डर लागेन । विज्ञानको आधुनिक प्रविधिमा आफू पनि पौडिन पाएकोमा खुशी लाग्यो। नयाँ वर्षको उपलक्षमा शहर रङ्गीचङ्गी बत्तीले जाज्वल्यमान भएको थियो । कल्पना हो कि साच्चिकै हो जस्तो लाग्यो । पूरा सहर स्वप्न लोक जस्तो देखिएको थियो । त्यसै बीच अकस्मात् सडकमा गाडीहरू रोकिएर एकै तालमा हर्न बज्न थाल्यो । डिसेम्बरको आखिरी दिन नयाँ वर्षलाई स्वागत गर्ने मध्य रातमा त्यस्तो गर्ने त्यहाँको परम्परा भएको मलाई थाहा थिएन । थाहा न पाउनेलाई एकै चोटि मध्य रातमा हजारौं मोटरको हर्न बज्दा “लौ न नि के भयो” भनेर डर लाग्ने रहेछ । पछि हर्न बजाएको तारतम्य थाहा पाए पछि आफ्नो मौलिक संस्कृति जगेर्ना गरेको देख्दा खुसी लाग्यो ।
त्यो दिनको आखिरी कार्य बाँकी नै थियो । पार्कमा मेच टेबुल भएको ठाउँमा सर्प्राइज तरिकाले केक सजिइ सकेको थियो । लुनाको सर्प्राइज बर्थ डे थियो उसले मैन फुकेर, अरूले “शुभ जन्मोत्सव” भनेर ताली पड्काएर केक काटेर रमाइलो गरियो । सडक हिँड्ने ,वरपर भएका अरू मान्छेले हाप्पी बर्थ डे भने शुभकामना दिए ।कसैले त केक पनि खाए । धेरै पटक लामो दूरीको हवाई यात्रा गरि सकेकी मैले यस पालीको यात्रा त्यति सौहार्द भएन जस्तो लागेको थियो । तर नयाँ वर्ष २०२५ ले ल्याएको उत्साह र उमङ्गले धेरै रमाइलो भयो ।
०००
लेखक परिचयः साहित्यका विविध विधामा कलम चलाउने रञ्जुश्री पराजुली नेपाली नियात्रा साहित्यको क्षेत्रमा प्रथम नियात्रा कृति, “विदेशमा बिताएका केही बर्ष” (बिसं २०४१) प्रकाशन गर्ने लेखिका हुन् । उनका कथा, समालोचना तथा वाल साहित्यका पुस्तकहरु प्रकाशित छन् । विभिन्न साहित्यिक संस्थामा समेत संलग्न उनलाई साहित्य सेवाका लागि पुरस्कार तथा सम्मान प्राप्त भएको छ । लामो समय त्रिविमा प्राध्यापन गरेर अवकाशप्राप्त उनी नेपाल अमेरिका दुबैतिर समय बाँड्छिन् र हाल अमेरिकाको टेक्सासमा बस्छिन् ।
